राजविराज, २ पुस । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित बेल्हीमा आज आगलागी हुँदा बीस लाख मूल्य बरावरको क्षति भएको छ ।
स्थानीयवासी विजयकुमार रायको फुसको गाईगोठमा अचानक आगलागी हुँदा निजको एउटा फुसको घर, तीन गाई र एउटा बाछा मरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सो आगलागीमा परी रायको तीन लाख मूल्य बराबरको क्षति भएको छ । साथै छिमेकी नागेश्वर रायको एउटा फुसको घर र १०० मन धान जलेर नष्ट भएका छन् ।
त्यस्तै बब्लु राय भने किसुनदेव रायको एउटा फुसको घर, १५ बाख्रा जलेर मरेको छ भने एउटा गाडी र फर्निचरको सरसमान जलेको प्रहरीले जनाएको छ । यस्तै अजयकुमार रायको एउटा फुसको गाईगोठ जल्नुको साथै सात बाख्रा मरेका छन् । रामचन्द्र रायको पनि एउटा फुसको गाईगोठ जलेको छ भने १२५ मन धान जलेर नष्ट भएका छन् ।
यसैगरी सोही आगलागीमा परी अहिल्यादेवी रायको एउटा फुसको घर र १०० मन धान जलेर नष्ट भएको छ । आगलागीबाट अन्नपात, खाद्यान्न, लत्ताकपडा, भाँडार्वतन, नगद, जिन्सी गरी करीब २० लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीयवासी, प्रहरी र राजविराज तथा हनुमाननगरबाट गएको बारुणयन्त्रणले नियन्त्रणमा लिएको थियो ।