भृकुटीमण्डपमा खुला बजार हटाएर स्थायी कक्ष बनाउने

दियो पोस्ट  

काठमाडौँ, पुस ३ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले भृकुटीमण्डपको खुलाबजार हटाएर स्थायी कक्ष (सेमि–परमानेन्ट स्टल) राख्ने बताएकी छन् ।

काठमाडौँ निम्न व्यापारी सङ्घ भृकुटीमण्डप खुलाबजारको २६औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनीले खुल्लाबजारलाई व्यवस्थित गर्नका लागि स्थायी कक्ष राखिने बताइन् ।

निर्वाचनका बेला जनतासँग गरिएका प्रतिबद्धता पनि सरकारले क्रमशः पूरा गर्दै लैजाने उनकाे भनाइ रहेको थियो । मन्त्री थापाले संविधान र कानूनमा भएका विषयलाई कार्यान्वयनका लागि नीति बनाएर अघि बढाउने क्रममा सरकार रहेको भन्दै जनताको हक र हितका लागि नै सरकार केन्द्रित रहेको धारणा राखिन । सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले भृकुटीमण्डपको खुलाबजारलाई व्यवस्थित बनाउनुपर्ने बताए ।