सन्तोष शर्मा
बनियानी, पुस ३ । झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
विभिन्न सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको नेपाल कुखुरापालक किसान सङ्घ झापाका अध्यक्ष राजन पौडेलेले बताएका छन् ।
“पछिल्लो समय चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको छ”, उनले भने , “तर, किसानले उत्पादन गरेको कुखुराको मूल्य घट्दो छ ।” आन्दोलनस्वरूप किसानको समस्या समाधान नभएसम्म खोरमा खुकुराको चल्ला नहाल्ने निर्णय आन्दोलित पक्षले गरेको छ ।
सरकारले उचित मुल्यको व्यवस्था नगरेसम्म खोरमा चल्ला नराख्ने कुखुरा पालक किसानहरुले जनाएका छन् । खोरमा चल्ला नहाल्ने विषयलाई पुष १ गते देखि नै कार्यन्वयन गरिएको नेपाल कुखुरा पालक संघ झापाका सचिव डिल्ली उप्रतीले बताएका छन् ।
केही समयअघि प्रतिबोरा (५० केजी) दानामा ५० वृद्धि गरिएको र त्यसलगत्तै ७५ ले पुनः वृद्धि गरिएको थियो । गर्मी महीनामा चल्ला बचाउनै मुस्किल पर्ने र जाडोमा चल्ला खरीद गर्न नसकिने गरी मूल्य वृद्धी भएपछि किसान मारमा परेका हुन् । त्यसमा पनि एकदिनको चल्ला ३५ ग्रामको हुनुपर्नेमा २५ ग्राममात्र हुनेकारणले किसान समस्यामा परेका हुन् ।
किसानलाई एक कुखुरा उत्पादनमा प्रतिकेजी १ सय ६५ लाग्छ । अहिले किसान प्रतिकेजी १ सय ६५ देखि १ सय ७० रुपयाँमा कुखुरा बेच्न बाध्य छन् । यद्यपी बजारमा भने २ सय ८० देखि ३ सय रुपयाँ प्रतिकेजी मासु बिक्री भइरहेको छ । किसानलाई आफुले उत्पादन गरेको कुखुरा ४५ दिनदेखि बेच्नैपर्ने वाध्यता हुन्छ । यसबिचमा बिचौलियाहरुले फाईदा उठाउछन् भने उत्पादक किसान घाटामा जान्छन् । किसानको खोरमा हाल ७० देखि ९० दिनका ७ केजीसम्मका कुखुरा रहेका छन् ।
झापाको सीमावर्ती क्षेत्रबाट भारतीय कुखुराको आयातका कारण नेपाली कुखुरापालक किसान थप मारमा परेका हुन् । झापाको कचनकवलस्थित बनियानी र मेचीनगरको बाहुनडाँगी क्षेत्रबाट प्रहरी र व्यापारीको मिलेमतोमा भारतीय कुखुरा भित्रिने गरेको सङ्घको दावी छ ।
सीमा क्षेत्रबाट भारतीय कुखुरा आयात भइरहेको भन्दै सङ्घले जिल्ला प्रहरी कार्यालय झापालाई ध्यानाकर्षणसमेत गराएको छ भने जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र समेत बुझाएको छ । आफ्नो समस्या समाधानका लागि पहल गरिदिन जिल्लाका चार स्थानीय तह शिवसताक्षी, बिर्तामोड, भद्रपुर र दमक नगरपालिकामा ज्ञापन पत्रसमेत बुझाइएको छ ।
कुखुरापालक सङ्घ झापामा ५५० किसान ९सरकारी कार्यालयमा दर्ताका फर्म० आवद्ध छन् भने करीब २०० किसान असङ्गठित रूपमा रहेका छन् । त्यस्तै, देशभर करीब एक लाख ७५ हजार किसान रहेको सङ्घले जनाएको छ ।
कुखुरापालनका लागि झापामा मात्र किसानले वार्षिक चल्लामा रू १३ करोड २० लाख र दानामा १६ करोड ५० लाख खर्च गर्ने गरेको सङ्घले जनाएको छ । त्यस्तै, जिल्लामा वार्षिक रू ८५ करोड २५ लाख मूल्य बराबरको ५० लाख केजी जिउँदो कुखुरा उत्पादन हुने गरेको सङ्घले जनाएको छ ।