कांग्रेसमा टुंगिए पदाधिकारी ! यस्ता छन् दुई विकल्प

दियो पोस्ट  

 

काठमाडौं, ३ पुस चार दिनसम्म पनि विधानमा पदाधिकारीको संख्यामा सहमति हुन नसकिरहेका बेला नेताहरु सहमति नजिक पुगेका छन् । अघिल्लो रात सभापति एक, उपसभापति दुई, महामन्त्री तीन, समहामन्त्री चार र एक कोषाध्यक्ष बनाउनमा नेताहरु सहमतिमा पुगेका थिए । यसमा यसमा सभापति, एक उपसभापति दुई महामन्त्री र एक कोषाध्यक्षको निर्वाचन गर्ने भन्ने थियो । यी बाहेकका पदमा सभापतिले मनोनित गर्ने नभई केन्द्रीय समितिमा भोटिङ गरेरै छान्ने गरी नेताहरु एठेका थिए ।

आ-आफ्नो समूहमा छलफल गरेर मंगलबार बिहान अन्तिम रुप दिने पनि सभापति शेरबहादुर देउवा पक्षले ११ पदाधिकारी हुने र केन्द्रीय समितिबाट निर्वाचन गर्ने प्रक्रियामा असहमति जनाए । फेरि अर्को विकल्प पदाधिकारीमा सहमति नभएपछि मंगलबार बिहानबाट ८ पदाधिकारीको विषयमा सहमति खोज्ने प्रयास गरिएको जानकारी नेता अर्जुननरसिंह केसीले दिए ।

यो विकल्पमा सभापति, उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्री र एक कोषाध्यक्ष हुने प्रस्ताव गरियो । यसमा उपसभापति, महामन्त्री र सहमहामन्त्री एकएक जना केन्द्रीय समितिबाट निर्वाचित हुने र अरु पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने विकल्पमा छलफल भइरहेको जानकारी केसीले दिए ।

आज पनि बिहानैदेखि नेपाली कांग्रेसका पदाधिकारी, विधान संसोधन मस्यौदा समितिका सदस्यसहित शीर्ष नेताहरु सिंहरदबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा औपचारिक अनौपचारिक छलफलमा व्यस्त छन् ।

विधान नै प्रस्तुत हुन नसकेपछि बन्दसत्र स्थगित विधान मस्यौदा बन्दसत्रमा चार दिनसम्म प्रस्तुत हुन नसकेपछि होहल्लाकाबीच आज बिहानैदेखि बन्दसत्र स्थगित हुन पुगेको छ । यता सिंहदरबारमा पदाधिकारीको विषय टुंगो लागेपछि मात्रै केन्द्रीय समितिबाट विधानको टुंगो लगाएर तीन बजेमात्रै महासमितिको बैठक डाक्ने तयारी गरिएको छ ।

कांग्रेसमा यस अघि ८५ सदस्यीय केन्द्रीय समिति हुँदा सभापति, एक उपसभापति, दुई महामन्त्री, एक कोषाध्यक्ष र एक समहामन्त्री गरी ६ पदाधिकारी थिए ।

जसमा सभापति, एक महामन्त्री र एक कोषाध्यक्षको निर्वाचन हुन्थ्यो । उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येकबाट मनोनित गर्दथे ।

विधानको नयाँ मस्यौदामा १४१ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरिएको थियो । तर, अहिले समावेशी आरक्षण बढाउनुपर्ने भन्दै १५१ सदस्यीय केन्द्रीय समिति बनाउँने चर्चा छ ।