नारायणहिटी दरबारको पर्खाल नबन्दा जोखिमपूर्ण यात्रा

diyopost.com
Diyo post   बुधबार, पौष ०४, २०७५ | १४:२९:३१

काठमाडौँ, ४ पुस । भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबार सङ्ग्रहालयको नारायण मन्दिर र पर्खाल नबन्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

ऐतिहासिक, धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण नारायण मन्दिर र सँगैको सत्तल पुनःनिर्माणका लागि पुरातत्व विभाग एवं गुठी संस्थानसँग अनुरोध गर्दा समेत प्रक्रियाअघि बढ्न नसकेको पूजारी रोहिणीप्रसाद पौडेलले गुनासो व्यक्त गरेका छन् ।

भूकम्पपछि काठमाडौँ महानगरपालिका–१ कार्यालयका प्राविधिकले आइ नापजाँच गरे पनि चिरा परेको सत्तल र दरबार घेरिएको पर्खाल बनाउने काम अघि बढ्न सकेको छैन । पैदल मार्गसँग जोडिएको पर्खाल चिराचिरा परेको छ । पैदल हिँड्दा पर्खाल भत्केर थिच्ने त्रास हुने गरेको यात्रु नर्वदा श्रेष्ठले बताएका छन् ।
पुरातात्विक सम्पदा पुनःनिर्माणको जिम्मेवारी पाएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर नारायणहिटी दरबार क्षेत्रमा भत्किएका संरचना बनाउन आठ करोड लागत अनुमान गरिएको छ । त्यस क्षेत्रका सम्पदा पुनःनिर्माणको जिम्मेवारी नारायणहिटी दरबार सङ्ग्रहालयलाई नै दिइएको छ ।

सम्बन्धित खबर