‘नेता मिलाउन होइन, पार्टी मिलाउँन आएका हौं’ (भडियाेसहित)

दियो पोस्ट  

काठमाडौं पुस ६ । महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले दुई चार नेताहरुकै कारण पार्टीमा अन्यौलता आएको बताएका छन् । महासमिति बैठकमा बोल्दै सिरहाका डा. यादवले दुई चार नेतालाई पदाधिकारी बनाउन नभई समग्र पार्टीलाई रुपान्तरण र समावेशी बनाउन आफूहरु महासमितिमा आएको बताएका हुन् ।

‘पार्टीको मात्रै होइन देशकै प्रतिनिधित्व गरेर आएका छौं । देश शान्ति र समृद्धिको ल्याउँने हो भने सबैलाई समान अधिकार र सबैको सह अस्तित्व स्वीकारेर जानुपर्छ । समानतालाई कांग्रेसले स्वीकारेको छ’ उनले भने, ‘यसकारण जसको जति आवादी हो त्यसै अनुसार पार्टीले आफ्ना संरचनामा समान अवसर दिनुपर्छ ।

यस्तो नभएसम्म कसैले पनि अधिकार पाए भन्ने बोध गर्न सक्दैनन् । हरेक समुदायको जबसम्म प्रतिनिधित्व हुँदैन तबसम्म यो पार्टी प्रभावकारी बन्न सक्दैन ।’
नेताहरु गुटभन्दा माथि नउठ्ने र हामी मिलेपछि सबै ठीक हुन्छ भन्ने शैलीमा उत्रिएकोप्रति उनले असन्तुष्टि जनाए । ‘हामी नेता मिलाउँन आएका होइनौं देश र पार्टी मिलाउन आएका हौं ।

तपाईंहरुले समावेशीता लैगिक प्रतिनिधित्व पनि गराउनुपर्छ’ उनको भनाई छ, ‘तपाईंहरुले पदाधिकारीमात्रै मिलाउनु भयो र लैंगिक प्रतिनिधित्व मिलाउनु भएन भने त्यो सहमतिको कुनै अर्थ हुँदैन । महिला, मधेस, दलित, जनजातिको सही प्रतिनिधित्व नभएसम्म पार्टीले समाजवादको गफ दिएर हुँदैन ।’

संविधान सहमतिको दस्तावेज
संविधान सहमतिको दस्तावेज भएको भन्दै उनले धर्मको विषय ल्याएर संविधानलाईइ नै विवादित नबनाउन आग्रह गरे । ‘जहाँसम्म धर्मको विषय छ । म आर्फै हिन्दु हुँ । ८० प्रतिशत हिन्दु भए पनि जनमतसंग्रह गरेर ६० र ५० मा झार्न चाहन्न । गिरिजा र सुशील कोइरालाको योगदानमा आएको संविधान सहमतिको दस्तावेज हो ।

यसमा धर्मनिरपेक्षताको विषय सहमतिको दस्तावेज हो’ उनले भने, ‘भोटिङको नाममा यो विषयलाई हटाइदिने हो भने पार्टीको स्थिति के हुन्छ ? जनजाति, मुस्लिमको धर्म के हो ? धर्मको विषय ल्याएर उनीहरुलाई के गर्न खोजिएको ? बाहिर पठाउन खोजिएको हो ? तसर्थ जिम्मेवार बनौं ।’