
काठमाडौं, ९ भदौ । राजधानीको बानेश्वर क्षेत्रमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। व्यस्त समय (पिक आवर) मा आकाशे पुल प्रयोग गर्न आग्रह गर्दा प्रहरीसँग विवाद झिकेर हातपातमा उत्रिएका ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गत भदौ ९ गते बिहान अन्दाजी ९:३० बजे बानेश्वरबाट थापागाउँ जाने सडक खण्डमा रहेको आकाशे पुलमुनि उक्त घटना घटेको हो। व्यस्त समयमा सडकमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीले सडक जथाभाबी काट्न रोक लगाउँदै आकाशे पुलबाट बाटो काट्नका लागि सम्झाई-बुझाई गरेका थिए। तर, प्रहरीको आग्रहलाई अटेर गर्दै ती युवकले उल्टै ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई गालीगलौज तथा हातपात गरेका थिए।
उक्त घटनामा संलग्न रहेको आरोपमा जिल्ला जुम्लाको तातोपानी गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-३१ बस्ने २७ वर्षीय राज कठायत पक्राउ परेका छन्। प्रहरीलाई अभद्र व्यवहार गर्ने कठायतलाई नियन्त्रणमा लिई ‘राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने र अभद्र व्यवहार गर्न नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ (पाँच) दिनको म्याद थप अनुमति लिइएको छ। यस सम्बन्धमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिएका छन्।