बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई जना पक्राउ

दियोपोस्ट संवाददाता

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ दशधुरेस्थित सुकुमवासी बस्तीकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका-२ का सुमन थापा र म्याजिकका चालक प्रोग्रेस चौधरी रहेका छन् । प्रहरीले उनीहरूलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार थापा वीरगञ्ज-पथलैया रुटमा सञ्चालन हुने म्याजिक भ्यानका सहचालक हुन् । थापाले प्रहरीसमक्ष घटनामा आफ्नो मात्रै संलग्नता रहेको बयान दिएको प्रहरीको भनाइ छ।

बालिका हराएको सूचना पाएपछि आइतबारदेखि नै प्रहरीले खोजी गरिरहेको थियो । आइतबार बिहान करिब साढे ८ बजेदेखि सम्पर्कविहीन भएकी गरिमाको शव भने घरबाट करिब दुई सय मिटर टाढा रहेको एउटा खाली घरमा मंगलबार साँझ फेला परेको थियो । कपडामा पोको पारिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

खाली घरबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तालिमप्राप्त कुकुरसहित घटनास्थलमा पुगेको प्रहरीले खोजी गर्ने क्रममा शव फेला पारेको प्रहरीको भनाई छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घटनाको अनुसन्धानका क्रममा तालिमप्राप्त कुकुरले संकेत गरेपछि घटनास्थलमै रहेका सुमनलाई पक्राउ गरिएको हो । घटनास्थलमा प्रहरीसँगै बालिका खोज्न सक्रिय देखिएका सुमनले शव भेटिएपछि हत्यारालाई जसरी पनि पक्राउ गर्नुपर्ने भन्दै प्रहरीसँगै हिँडडुल गरेका थिए ।

प्रहरीका अनुसार प्रारम्भिक बयानमा सुमनले बालिकालाई बलात्कार गरेपछि हत्या गरेको स्वीकार गरेका छन् । बयानअनुसार बालिका बेहोस भएपछि डोरीमा झुण्ड्याएर उनी फर्किएका थिए । त्यसपछि पुनः घटनास्थलमा पुगेर शवलाई कपडामा पोको पारेको र व्यवस्थापन गर्न खोजेको उनले बताएका छन् । घटनाको सम्पूर्ण विवरण भने अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ ।

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले सिमरामा प्रदर्शन गरेका छन् । इलाका प्रहरी कार्यालय सिमरा अगाडि भेला भएका स्थानीयले घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन् । स्थानीयले बालिकाको हत्यामा संलग्नलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्ने माग गर्दै प्रदर्शन जारी राखेका छन् ।

सम्बन्धित खबर

सिफारिस