
सप्तरी । सप्तरीकी दुई वर्षीया बालिका रुविना खातुनको हत्या गरेको आरोपमा उनकी कान्छी आमा पक्राउ परेकी छन् । हत्या आरोपमा शम्भुनाथ नगरपालिका-३, ट्राफिक बजारमा बस्दै आएकी २५ वर्षीया मुस्कान भनिने जास्मिन खातुन पक्राउ परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बालिकाको शव घरपछाडिको झाडीमा फालिएको अवस्थामा फेला परेको थियो।
घटनापछि प्रहरीले तत्कालै आरोपित जास्मिनलाई पक्राउ गरी सोधपुछ गरेको थियो । सोधपुछका क्रममा उनले आफूले नै बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना भदौ ७ गते बिहान शम्भुनाथ नगरपालिका-३ स्थित जाहेरवालीको घरपछाडिको झाडीमा भएको थियो।
मृतक बालिकाकी आमा रुविना खातुनले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ।
सप्तरी जिल्ला अदालतबाट सोही दिनदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी आरोपितमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।