लुम्बिनीका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

दियोपोस्ट संवाददाता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

नवनियुक्त तीनै जना मन्त्री नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद हुन् । दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय तथा कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

शपथ ग्रहण समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य पनि उपस्थित थिए । प्रदेश प्रमुख घर्तीमगरले मुख्यमन्त्री आचार्यको सिफारिसमा सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (९)  बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।