
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही अभियोगमा गत जेठ १३ गते क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार उनलाई घुस सम्बन्धी कसुरमा दोषी ठहर गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत रहेका बेला क्षेत्रीले लागुऔषधसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने, पक्राउ नगरी घटना मिलाइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोप लागेको थियो ।
अख्तियारले अनुसन्धानका क्रममा उनलाई घुस रकमसहित पक्राउ गरेको थियो । सोही आधारमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।