
काठमाडौँ । आउँदो शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको अवसरमा ललितपुरस्थित कुम्भेश्वर-बंगलामुखी क्षेत्रमा लाग्ने मेलाको व्यवस्थापन तयारी सुरु गरिएको छ । ललितपुर महानगरपालिका-११ ले भदौ १२ गते लाग्ने मेलालाई लक्षित गर्दै व्यवस्थापनको तयारी गरिरहेको वडाध्यक्ष अरुजकुमार खड्गीले जानकारी दिए।
उनका अनुसार हाल मन्दिर परिसर तथा वरपर सरसफाइ, रंगरोगन र मर्मतसम्भारका काम भइरहेका छन् । मेलामा आउने भक्तजनहरूले मन्दिर परिसरमा रहेको कुण्डमा स्नान गर्ने भएकाले कुण्डमा पानी भर्ने कामसमेत भइरहेको उनले बताए।
कुम्भेश्वर मन्दिर परिसरमा रहेको कुण्डमा भगवान श्रीरामले आफ्नो बाण प्रहार गरी गोसाइँकुण्डको पानी प्रवाह गराएको किंवदन्ती रहेको पाइन्छ।
मेलाको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्काउटलाई परिचालन गरिने वडाध्यक्ष खड्गीले बताए । साथै, मेला भर्न आउने भक्तजनहरूको सहज व्यवस्थापनका लागि गेट नम्बर १, २, ३ र ४ बाट छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको उनले जानकारी दिए।