छ छोरी जन्माएपछि महिला घर निकाला

दियो पोस्ट  

जुम्ला, पुस ८ । छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला भएकी हुन् ।

२६ वर्षीया झनमायाले छ महीनाको गर्भवती अवस्थामा श्रीमान् गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताए । श्रीमान्ले घरबाट निकालेपछि माइतीमा बस्दै आएकी उनले पुस ३ गते छैटौँ सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरी जन्माइएकी नवजात छोरीलाई जन्मदै हेपाटाइटिस बी भएको र साथमा पैसा नहुँदा उपचारमा समस्या भएको उनले बताए ।

झनमायाकी दुईटै छोरी माइतीको संरक्षणमा छन् । उनी कान्छी छोरीसँगै अस्पतालमै छिन् । झनमायाका माइती पक्ष पनि आर्थिक रूपमा निकै विपन्न भएका कारण उनको उपचारमा सहयोग नभएको बताइएको छ । अस्पतालले अन्य बाहिर जिल्ला लैजान सिफारिश गरेपछि कहाँ र कोसँग जाने भन्ने चिन्ताले सताएको झनमायाले बताए । सानै उमेरमा बिहे गरेकी उहाँले छ सन्तान जन्माएको र तीन मात्रै जीवित रहेको दुखेसो गरे ।

पहिलो सन्तान छोरी जन्मदा मरेको जन्मिएको र त्यसपछि गर्भवती हुँदा गर्भ परीक्षण गर्दा छोरी देखिएपछि दुई छोरी श्रीमान्को दबाबमा गर्भपतनसमेत गरेको उनको भनाई छ ।

कसैको सहयोग पाए छोरीलाई हेपटाइटिस ‘बी’ को खोप लगाउने र नभए उपचार नै नगरेर अस्पतालबाट जानुपर्ने स्थिति रहेको उनले बताए । छोरा नजन्माएको भन्दै आफूलाई घरबाट लखेट्ने श्रीमान् भने कहाँ छन् भन्ने पत्तोसम्म नभएको झनमायाले बताईन ।