सुर्खेत, पुस ८ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णलीको समृद्धिका लागि कर्णालीका पत्रकारले उल्लेख्य भुमिका खेल्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको समन्वयमा राष्ट्रिय समाचार समिति द्धारा आयोजित प्रदेशस्तरिय पत्रकारिता प्रशिक्षणको आइतबार उद्घाटन गर्दै उनले पत्रकारहरुले रचनात्मक रुपले कलम चलाउनुपर्ने तथा आफ्ना समाचारमाथि अनुसन्धान तथा आत्ममुल्यांकन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले कर्णाली प्रदेश सरकारले कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन गर्ने, पत्रकारका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने तथा प्रदेश सरकारले कर्णाली रेडियो, टेलिभिजन सञ्चालन गर्ने जानकारी दिँदै सरकारले रासस र नेपाल पत्रकार महासंघसंग मिलेर कामगर्ने प्रतिवद्धता ब्यक्त गरे ।
उद्घाटन समारोहमा राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससलाई उत्तरदायी, विश्वसनीय र भरपर्दो बनाइने बताए। उनले लोकतन्त्रलाई सुदृढ गर्न राससलाई समायानुकूल विकास गरिने बताए
राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससलाई समयानुकूल पुनःसंरचना गर्दै निकट भविष्यमा सातै प्रदेशबाट समाचार बुलेटिन प्रकाशन गरिने जानकारी दिए ।