धार्मिक र पर्यटकीय स्थलको प्रचारप्रसार हुने

दियो पोस्ट  

गलेश्वर,पुस ८ । धार्मिक र पर्यटकीय सम्भावना रहेर पनि वर्षौदेखि ओझेलमा परेको स्वर्गाश्रम र बेलढुङ्गा क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले म्याग्दीको बेनी नगरपालिका–३ मा अवस्थित मुसुङमा पदयात्रा र मेला आयोजना गर्ने भएको छ ।

विभिन्न संस्थाको सहकार्यमा स्वर्गाश्रम युवा क्लबले पुस २६ देखि माघ ३ गतेसम्म सो मेला सञ्चालन गर्न लागेको हो । माघे संक्रान्ति पर्वको अवसर पारेर आयोजना गर्न लागिएको ‘माघे संक्रान्ति सांस्कृतिक तथा पर्यटन मेला २०७५’ मा धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गाश्रम, बेलढुङ्गालगायत भकिम्लीमा पर्यटन प्रवद्र्धनका विषयमा छलफल हुने आयोजक समितिका प्रचारप्रसार संयोजक कमल पुनले बताए ।

सदरमुकाम बेनीदेखि २० किलोमिटर दूरीमा सो क्षेत्र रहेको छ । “पर्यटकीय सम्भावना हुँदाहुँदै पनि सधैँ बत्ती मुनिको अँध्यारो जस्तै बनेको स्वर्गाश्रम र बेलढुङ्गाको प्रचारप्रसार गरी आन्तरिक पर्यटक भित्र्याउने योजनासहित हामीले पदयात्रा र मेलाको आयोजना गरेका हौँ,” प्रचारप्रसार संयोजक पुनले बताए ।

‘स्थानीय कला संस्कृतिको सम्वद्र्धन, माघे संक्रान्ति मेला पर्यटन प्रवद्र्धन’ मूलनारासाथ हुन लागेको उक्त कार्यक्रममा चर्चित गायक बसन्त थापा लगायतका कलाकारको साङ्गीतिक प्रस्तुति रहनेछ (रासस)

TATA ADD