ढाका, पुस ९। यसै साता बंगलादेशमा संसदका लागि आमनिर्वाचन हुँदैछ । प्रधानमन्त्री शेख हसिनाको दल ऐतिहासिक जिततर्फ अग्रसर रहेको अड्कलबाजी गरिएका छन् । उनकी चिर प्रतिद्वन्द्वी खालेदा जिया ढाकाको जेलमा बन्दी जीवन बिताइरहेका छन् । तैपनि दुबै नेतृहरु चुनावमा विजयी हुने आशामा छन् ।
बंगलादेशका “झगडालु बेगम”हरु विगत तीन दशकदेखि एकअर्काविरुद्ध लडिरहेका छन् । यो चुनावमा विजयी भए शेख हसिनाले बंगलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासिन हुने रेकर्ड बनाउनेछन् ।
यी दुबै महिला नेतृहरु सन् १९८० को दशकदेखि नै विरासतका आधारमा राजनीतिक रुपमा सक्रिय छन् । हाल ७३ वर्ष पुगेकी खालेदा जिया पूर्व सैनिक तानाशाहकी विधवा हुन् भने हसिनाका बुबा बंगलादेशका संस्थापक नेता हुन् ।
साथै, यी दुबै महिला नेतृले जनआन्दोनको आडमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहम्मद एर्सादलाई सत्ताच्यूत गरी लोकतन्त्र पुनस्र्थापना गरेका थिए ।
बिडम्बना, सन् १९९१ मा प्रधानमन्त्रीमा खालेदा जिया निर्वाचित भएपछि यी दुई महिला नेतृबीच चरम कटुता उत्पन्न भयो । त्यसपछिका चुनावबाट यी दुई लगभग आलोपालो प्रधानमन्त्री भइरहेका छन्, र प्रतिशोधको राजनीति चरम विन्दुमा पुगेको छ ।
हसिना आगामी निर्वाचनबाट चौथो पटक प्रधानमन्त्री हुने तयारीमा छिन् । चुनावी मतसर्वेक्षणले उनको पक्षमा पहिलेझैं मत प्राप्त नहुने देखाएको छ । सरकारले विपक्षीमाथि तानाशाही प्रवृत्ति देखाएको आरोप उनिमाथि छ ।
विपक्षी दलकी अध्यक्ष खालेदा जिया भ्रष्टाचारको आरोपमा १७ वर्षको जेलमा छिन् । उनको दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले उक्त आरोप “राजनीतिक प्रेरित” रहेको भन्दै आलोचना गरिरहेको छ ।
बंगलादेशी कानुन बमोजिम जियाले चुनाव लड्न पाउनुहुने छैन । बीएनपीले चुनाव स्वच्छ र पारदर्शी रुपमा हुन नसक्ने दाबी गरेको छ । हालैका महिनामा पार्टीसम्बद्ध हजारौं कार्यकर्तालाई पक्राउ गरिएको बीएनपीले जनाएको छ ।
जिया अहिले बाथ तथा मधुमेह रोगबाट पीडित छिन् । उनको हालैमात्र घुँडाको प्रत्यारोपण गरिएको थियो । उनि आफैँले मुश्किलले मात्र हिँड्न सक्छिन् । पश्चिमा कुटनीतिक समुदायले उहाँ राजनीतिमा पुनः सक्रिय हुने सम्भावना नरहेको बताएका छन् ।
“उहाँको राजनीतिक यात्रा समाप्त भइसक्यो,” ढाकास्थित एकजना कुटनीतिज्ञले बताए ।उनको एकमात्र सम्भावना भनेको औषधोपचारका लागि विदेश जान पाउने अधिकारको खोजी मात्र हो ।
जियाको कमजोर परिस्थितिले उनको परिवारमै सङ्कटको बादल मडारिएको छ ।
जियाको कान्छो छोराको सन् २०१५ मा निर्वासनकै क्रममा बैंककमा मृत्यु भएको थियो । उनको जेठो छोरा तारिक रहमान सन् २००८ देखि नै लन्डनमा निर्वासनमा छन्। तारिकले सन् २००१ को निर्वाचनमा खालेदा जियालाई विजयी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
अक्टोबरमा तारिक विरुद्ध आजीवन काराबासको सजाय सुनाइएको छ । उनीमाथि सन् २००४ मा हसिनाले ढाकामा आयोजना गरेका चुनावी र्यालीमा ग्रिनेड आक्रमणको अगुवाई गरेको आरोप छ । उक्त आक्रमणमा २० जनाको मृत्यु भएको थियो ।
विश्लेषकहरुको भनाईमा चर्चामा नरहे पनि चुनावमा जियाको प्रभाव निकै छ । “हो, केही समयका लागि दुई बेगमबीचको शक्ति सङ्घर्ष ओझेलमा परेको देखिएको छ,” इलिनोइस स्टेट युनिभर्सिटीका राजनीतिशास्त्री प्राध्यापक अलि रियाजले बताउनुभयो । “तर खालेदा जियाको राजनीतिक युग सकिएको अहिल्यै ठोकुवा गर्नु ठीक होइन । खालेदा जिया चुनावमा उम्मेदवार नभए पनि उहाँको नाम र प्रभाव सकिएको छैन ।”
जियाको कठिनाई सन् २०१४ को चुनाव बहिस्कार गर्ने निर्णयपछि अझ बढेको हो । हसिनाले बंगलादेशमा चुनावी सरकार गठन गर्ने प्रणाली खारेज गरेपछि चुनावमा व्यापक धाँधली भएको बीएनपीको आरोप छ ।
उक्त चुनावपछि भड्किएको हिंसामा दर्जनौं व्यक्तिको मृत्यु भयो । अर्को वर्ष राष्ट्रव्यापी सडक तथा रेलमार्ग अबरुद्ध पार्ने अभियान चलाइयो । उक्त अभियानको मुख्य उद्देश्य मध्यावधि चुनावका लागि हसिनालाई बाध्य पार्नु थियो । तर चुनाव भएन, बरु १५० भन्दा बढी मानिस मारिए ।
जियाको दलको आह्वानमा भएको यस आन्दोलनले आममानिसलाई क्रुद्ध बनायो । विश्लेषकहरुका अनुसार बीएनपीमाथि जाइलाग्न हसिनालाई यो आन्दोलनले उल्टै मद्दत गरेको थियो ।
“चुनाव बहिस्कार गर्ने तथा नाकाबन्दी गर्ने निर्णय दुबै आत्मघाती ठहरिए,” ढाकास्थित राजनीतिशास्त्री प्राध्यापक अताउर रहमानले बताए । “यो अभियानले पार्टीलाई कमजोर बनायो र विपक्षीमाथि जाइलाग्न ठूलो अवसर सिर्जना ग¥यो । यो परिस्थितिले त्यसयता एक दलीय राजनीतिक प्रणालीका रुपमा हसिनाको दल उभिएको छ ।”
केही मानिसको विश्वासमा जियाको परिवारले बीएनपीमाथिको नियन्त्रण गुमाउने स्थिति देखा परिसकेको छ । पार्टीको निमित्त अध्यक्ष रहेका जियाका छोराले लन्डनबाटै भिडियो संवादमा पार्टीका सम्भावित उम्मेदवारको अन्तर्वार्ता गरेका थिए ।
“यसले के सङ्केत गरेको छ भने जियाको वंश अझै पनि निकै बलियो छ र पार्टीभित्र बलियो प्रभाव कायम राखेको छ,” ओस्लो विश्वविद्यालयका प्राध्यापक मुबासर हसनले बताए ।