काठमाडौँ, पुष १ । सिन्धुपाल्चोक बस दुर्घटना भएको तीन दिनपछि मात्र सरकारले विज्ञप्ती जारि गरेको छ । गत आइतबार दोलखाको कालिञ्चोक दर्शन गरेर फर्किएको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ मा दुर्घटनाग्रस्त हुँदा १५ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए ।
दुर्घटना भएको तीन दिनपछि मात्रै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले विज्ञप्ती जारि गर्दै मृतक प्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । घटना प्रति सरकारको गम्भिर ध्यानाकर्षण भएको छानविन हुने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मन्त्रालयका सहसचिव गोपाल प्रसाद सिग्देलले जारि गरेको विज्ञप्ती अनुसार घटनाको अनुसन्धानको लागि छानविन समिति समेत गठन गरिएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यलयका सु.इ (सहसचिव) राजेन्द्रराज शर्माको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।
समितिमा गृह मन्त्रालय, ट्राफिक प्रहरी, यातायात व्यवसायी महासंघका प्रतिनिधि समेत रहेका छन् । उनिहरुलाई ७ दिनभित्र घटनाको अनुसन्धान गरि प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मन्त्रालयले जारि गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै दुर्घटनाको कारण र न्युनीकरणको लागि नीतिगत एवंम् संरचनागत सुधार सहितको प्रतिवेदन पेश गर्नका लागि समेत छुट्टै समिति गठन गरिएको जानकारी दिइएको छ ।

गत आइतबार सिन्धुपाल्चोकको लामो साँघु–जिरी सडक खण्ड अन्तर्गत ६ किलो घुम्तिबाट बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल खसेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत घटनाले आफुलाई पनि गम्भिर बनाएको बताएका थिए ।