काठमाडौँ, पुष १० । राष्ट्रिय पुननिर्माण प्राधिकरणले चार बर्षको अवधीमा भत्किएको संरचना निर्माणमा ८३ प्रतिशत सफलता हाँसिल गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै पुननिर्माण प्राधिकरणले स्थापनाको समयदेखि हालसम्म करिब ६९ प्रतिशत संरचना निर्माण सम्पन्न भइसकेको र १४ प्रतिशत संरचना निर्माणाधिन अवस्थामा रहेको जानकारी दिएको छ ।
२०७२ सालको विनाशकारी भुकम्पबाट निजि आवास, सार्वजनिक सम्पदा, सरकारी भवन, पुर्वाधार लगायतमा ठुलो मात्रामा क्षति पुगेको थियो । भुकम्पपछि २०७२ सालकै पुष महिनामा स्थापना गरिएको राष्ट्रिय पुन निर्माण प्राधिकरणले छोटो समयमा नै उल्लेखनिय काम गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीले बताएका छन् ।
प्राधिकरणले पुन निर्माणका लागि ६ वटा क्षेत्र छुट्याएर काम शुरु गरेको थियो । जसमा नीजि आवास, विद्यालय स्वास्थ्य संस्था, सम्पदा, सरकारी भवन र सुरक्षा निकायका भवनहरु रहेका छन् ।
नीजि आवासतर्फ ४ लाख गुनासो सुनुवाई
नीजि आवास पुन निर्माणमा ८६ प्रतिशत सफलता हाँसिल गरेको प्राधिकरणले जनाएको छ । पुन निर्माणका लागि अनुदान सम्झौता भएका कुल ७ लाख ८० हजार १ सय ६५ लाभग्राही मध्य हालसम्म ४ लाख ८२ हजार ३ सय २३ घरको निर्माण सम्पन्न भइसकेको छ । यो अनुदान सम्झौता गरेको उल्लेखित लाभग्राहीको ६२ प्रतिशत हो । १ लाख ८९ हजार ४१ वटा घरहरु भने निर्माणाधिन अवस्थामा रहेका छन् । यसअनुसार २४ प्रतिशत घरहरु बन्दै गरेको अवस्थामा रहेका छन् ।
७१ प्रतिशत विद्यालयको निर्माण सम्पन्न
विनाशकारी भुकम्पबाट ७ हजार ५ सय ५३ विद्यालय पुर्ण रुपमा क्षतिग्रस्त भएका थिए । पुन निर्माण प्राधिकरणका अनुसार क्षतिग्रस्त विद्यालयमध्य ७१ प्रतिशत अर्थात ५ हजार ३ सय ८० विद्यालयको निर्माण सम्पन्न भएका छन् । यसलाई प्राधिकरणले अभुतपुर्व उपलब्धीको रुपमा लिएको छ ।
१ सय २३ सम्पदा पुननिर्माणको क्रममा
भुकम्पले ३२ जिल्लाका सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएका छन् । कुल ८ सय ९१ सम्पदामध्य ३ सय ८७ वटा सम्पदाको पुननिर्माण सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । १ सय २३ वटाको भने निर्माण कार्य चलिरहेको छ ।
प्राधिकरणका अनुसार स्वयम्भूको प्रतापपुर, अनन्तपुर, बौद्ध स्तूपा, पाटनको कृष्ण मन्दिर, हनुमान ढोकाको गद्दि बैठक, साँखुको बज्रयोगिनी, प्रसुति गृह, वीर अस्पताल, नेपाली सेनाको जंङ्गीअड्डा लगायतको पुनर्निर्माण सम्पन्न भइसकेको छ। धरहरा, रानीपोखरी, काष्ठमण्डप, बसन्तपुर दरबार, नुवाकोट दरबार, सिंहदरबार ९उत्तर, पूर्व, दक्षिण र पश्चिम भाग०, दरबार हाइस्कूल जस्ता मुख्य संरचनाहरुको पुनर्निर्माण भइरहेको छ। यस्तै गुम्बा पुनर्निर्माणका कार्यहरु अघि बढाइएको छ।

स्वास्थ्य संस्था, सरकारी, र सुरक्षा निकायका भवन निर्माण
कुल ११ सय ९७ वटा मध्ये ६ सय ६५ स्वास्थ्य संस्थाहरुको पुनर्निर्माण सकिएको छ। १ सय ४९ वटा बन्दैछन्।
पूर्ण र आंशिक रुपमा क्षति भएका कुल ४ सय १५ सरकारी भवन मध्ये ३ सय ५९ वटा सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ। ४९ वटाको काम जारी छ। सुरक्षा निकायका १ सय ८३ वटा संरचनाहरुको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३२ वटा बन्दैछन्।
स्थानान्तरण र एकिकृत बस्ती
भूकम्पपछि असुरिक्षत स्थानमा रहेका लाभग्राहीमध्ये ४ हजार २ सय ४ लाभग्राहीलाई सुरक्षित बस्तीका लागि जग्गा खरिद तथा व्यवस्थापनको व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । जसमध्य ८ हजार ७ सय ४४ भूमिहीन तथा सुकुम्बासीलाई जग्गा खरिदरव्यवस्थापन गरिएको छ।
त्यस्तै ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृति भइसकेको छ । त्यसमध्ये २२ वटाको काम सुरु भएको छ भने तीनवटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको छ।
सडक र खानेपानी
पुनर्निर्माणका क्रममा विभिन्न जिल्लामा ७ सय ६२ कि।मी। सडक पुनर्निर्माण गर्नुपर्नेमा ४ सय ४३ कि।मी। सडकको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ३ सय १९ कि।मी। सडकको पुनर्निर्माण भइरहेको छ ।
त्यस्तै यसबीचमा खानेपानी विभागमार्फत ७ सय ९१ वटा खानेपानी योजनाहरु सम्पन्न भएका छन भने ६ सय ७० वटा योजनाहरु कार्यान्वयन भइरहेका छन् ।
पुननिर्माणमा हालसम्म ३ खर्ब ३५ अर्ब खर्च
पुननिर्माणको चौथो बर्षः साढे तीन खर्ब बजेट खर्चमा ६९ प्रतिशत निर्माण सम्पन्न, १४ प्रतिशत निर्माणाधिन
पुनर्निर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट २ खर्ब ९३ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ४२ अर्ब रुपैयाँ गरी ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको छ । प्राधिकरणका प्रमुख ज्ञवालीका अनुसार महत्वपूर्ण संरचनाको पुनर्निर्माण जारी रहेका कारण बाँकी काम सम्पन्न गर्न अझै ३ खर्ब रुपैयाँ आवश्यक रहेको उनले जानकारी दिए ।
जसअनुसार आर्थिक बर्ष ०७२÷०७३ मा २२ अर्ब ४७ करोड ५६ लाख बजेट खर्च भएको छ । त्यस्तै ०७३÷०७४ मा ४९ अर्ब ६९ करोड १७ लाख, आर्थिक बर्ष ०७४÷०७५ मा १ खर्ब १४ अर्ब ७८ करोड ११ लाख र ०७५÷०७६ मा ८९ अर्ब ४३ करोड ७६ लाख खर्च भएको छ । आर्थिक बर्ष २०७६÷०७७ का लागि भने १ खर्ब ४१ अर्ब विनियोजन भएको छ ।

चुनौती
भुकम्प पछिको पुननिर्माणको चार बर्षमा प्राधिकरणले विभिन्न किसिमका चुनौतीहरुको पार गर्दै आएको प्रमुख ज्ञवालीले बताएका छन् । राजनीतिक अस्थीरता, जनशक्ति र वित्तिय स्रोतको अभाव, संघीयता कार्यन्वयनको संक्रमणकालीन अवस्था, तीन तहका सरकारहरुको निर्वाचनमा केन्द्रित हुनु परेको अवस्था र पछिल्लो चरणमा कर्मचारी समायोजनले पनि पुन निर्माणमा चुनौती सिर्जना गरेको प्राधिकरण प्रमुख ज्ञवालीले बताए ।
बाँकी संरचना निर्माणमा पनि विभिन्न चुनौतीहरु रहेको ज्ञवाली बताउँछन् । मुख्य चुनौतीेको रुपमा वित्तिय व्यवस्थापन नै रहेका छन् । सहरी क्षेत्रमा रहेको नीजि आवास पुन निर्माण पनि चुनौतीपुर्ण रहेका छन् । अझै गलत विवरण दिएर पुननिर्माण वापतको रकम लिएर आवास नबनाउने प्रवृत्ती प्रमुख चुनौतीको रुपमा रहेको छ । प्राधिकरणले यस्ता व्यक्तिहरुबाट रकम फिर्ता लिने तयारी थालिसकेको छ ।