भरियादेखि माउन्टेन एकेडेमि अध्यक्षसम्म लाक्पा फुटीको यात्रा : ‘हिमालमै बलात्कारको प्रयास हुन्थे’ !

दियो पोस्ट  

रीता बुढाथोकी


भारी बोकेरै हिमालसँग लुकामारी गर्नु । बरफहरुको बर्को ओढेर इतिहास बनाउनु । त्यति सजिलो कहाँ छ र ! सोलुखुम्बुको चौँरीखर्कमा बीसको दशकमा जन्मेकी लाक्पा फूटी शेर्पाले यसरी नै आफ्नो इतिहास लेखिन् ।


पासाङ ल्हामु शेर्पाको सगरमाथा हिमाल अरोहणको सहयात्री, नेपाल माउन्टेन एकेडेमीकी अध्यक्ष, सफल पर्यटन व्यावसायी तथा लेखक समेत रहेकी लाक्पाफूटी शेर्पाको विगत त्यति सहज कहाँ थियो र ! सोलुखुम्बु जिल्ला साबिक चौँरीखर्क गाबिस, हाल पासांग ल्हामु गाउँपालिकाको मुसे गाउँमा २०२० सालमा बुवा ग्याल्जेन शेर्पा र आमा दावा लमु शेर्पाको पहिलो सन्तानकाे रुपमा जन्मेकी उनी आफ्नोे पहिचान आँसु र पसिनाले कोरेको बताउँछिन् ।


उनी सानै छँदा चौरीखर्कमा पहिलो पटक स्कुल खुलेको थियो । गाउँभरिका केटाकेटीहरु स्कुल जान पाउने खुसीले फुरुङ्ग थिए । महेन्द्र ज्योती नाम गरेको उक्त स्कुल एड्मन हिलारीले स्थापना गरेका थिए । स्कुल खुलेपछि पढाईको महत्व बुझाउँदै स्कुलकै शिक्षक शिक्षिकाहरु घर–घरमा बोलाउन आए । उनलाई पनि स्कुल जाने तीव्र इच्छा जाग्यो । शिक्षक नै घरमा बोलाउन आएपछि बा आमाले केही बोेल्न सकेनन् । केही दिन उनी खुसीसाथ स्कुल जान थालिन् ।


तर, दुर्भाग्य । घरमा हजुरआमालाई नातिनी स्कुल गएको मन परेको थिएन । ‘छोरीको जातलाई स्कुल पठाउनु भन्दा घरको काम सिकाउनु पर्छ, घरको काम सिक्यो भने पर्वतेसँग बिहे गर्न सजिलो हुन्छ,’ हजुर आमाले बा आमालाई यही सुझाब दिएकी थिइन् । त्यसपछि बा आमाले उनलाई स्कुल जान दिएनन् ।

एक दिन, भाइ स्कुल गएपछि उनी डोको बोकेर दाउरा टिप्न भन्दै घरबाट निस्किइन् । घरमा आमा बुवा खुसी भए, ‘अब छोरीले हामीले भनेको मान्न थाली ।’ लाक्पाफुटी भने घरदेखि अलि पर पुगे पछि डोको घोप्ट्याएर स्कुल पुगिन् । ४ बजेपछि स्कुलको बिदा भयो । सबै केटाककेटी हुरुरु स्कुलबाट निस्किए । उनी भने हतार हतार जंगलतिर छिरिन् । केही पत्कर र दाउरा जम्मा गरिन र डोकोमा राखेर घर पुगिन् । उनी स्कुल गएको कुरा कसैलाई पत्तो भएन । यसरी झुट बोल्दै स्कुल जाने क्रम धेरै दिनसम्म चलिरह्यो ।


अन्ततः उनी जंगल जाने निहुँ गरेर स्कुल गएको कुरा घरमा थाहा लाग्यो । उनले बुवा आमाको मुखबाट धेरै गाली खाइन् । स्कुलमा शिक्षकको कुटाइ, भोकभोकै जंगल, बुवा आमाको गाली, यी सब सहन उनलाई मुस्किल भयो । उनले मनमनै स्कुल नै नजाने निर्णय गरिन् । त्यसपछि जंगल र घर धन्दामा उनको दिन बित्न थाल्यो । घरको काम पनि गर्ने पर्यो, बहीनी पनि सम्हाल्नै पर्यो । तर, उनलाई यी काममा पटक्कै रुची थिएन ।


विश्वको सर्वोच्च शिखर सगरमाथातिर जाने पर्यटकहरु उनकैै गाउँको बाटो भएर हिँड्थे । आफ्नै गाउँको बाटो लठ्ठी टेक्दै लर्को लागेर हिडेको देख्दा उनलाई अचम्म लाग्यो । सुकिला–मुकिला, नजिक जाँदा मगमग बासना आउने, हेर्दै लोभ लाग्दा मान्छेहरु । गोरो र चम्किलो अनुहार, सफा हात गोडा भएका, ‘कहाँबाट आएका होलान् यी मान्छेहरु ?’ उनी मनमनै सोँच्थिन् ।

SONY DSC


खरानीले भाँडा माझ्दा काला र पट्पटी फुटेका आफ्ना हात खुट्टा नियाल्थिन् । कुइरेहरुका सेता र चिल्ला हात देखेर अचम्म मान्थिन् । ‘मेरा हात पनि यस्तै भइदिएको भए ?’ उनले थुप्रै पटक आफैलाई प्रश्न गरेकी थिइन् । रंग र बुट्टा नै छोपीने गरि मैलिएका आफ्ना कपडासंग कुइरेले लगाएका कपडा दाज्नु पनि उनको मुर्खता नै थियो । वास्तवमा हिमालीहरुको अवस्था त्यस्तै थियो । उनलाई ती ‘कुइरे’हरु प्रति निकै लोभ लागेर आउथ्यो । ‘म पनि त्यस्तै हुन पाए कस्तो हुन्थ्यो, ?’ उनी मनमनै कल्पिन्थिन् ।


उनका बुवा त्यतिबेला पर्यटकको गाइडको काम गर्थे । हिमाल आरोहण गर्न जाने पर्यटकको लर्को लागेको देखेर उनलाई पनि सहयोगीको रुपमा हिमाल जाने इच्छा नभएको होइन । तर, घरबाट अनुमति थिएन । बुवासंग धेरै पटक आग्रह गरिन् । बुवाले मानेन् । उनले जिद्धी गर्न थालिन् । बुवा आमाबाट अनुमती नपाउन्जेल उनले खाना खाइनन् । आखिर उनको जिद्धीका अगाडी बुवाको पनि केही लागेन ।

त्यसपछि उनी पर्यटकहरुको भरिया बनेर हिमाल गइन् । उमेर १३ वर्षको थियो ।
‘लाउँ–लाउँ, खाँउ–खाउँ’ भन्ने उमेरमा उनलाई किन भरिया बन्न मन लाग्यो ? वास्तवमा उनी भरिया बन्नु आफै भित्रको प्रतिसोध र बिद्राेह पनि थियो । ‘घरको काम नगरेर किन भारी बोक्नु पर्यो ?’ आमाले थुप्रै पटक नसम्झाएकी पनि होइनन् । तर, उनको जिद्धीका अगाडी आमाको पनि केही लागेन । उनी सुरुमा हप्ता दिनका लागि हिमाल गइन् । पर्यटकको भारी बोकेर हिमाल जाँदा पहिलो घर छोडेको त्याे नै पहिलो पटक थियो ।


तर, उनका लागि हिमाल बाहेक अर्को कुनै संसार थिएन । उनको परिवार र गाउँका आफन्तहरु पर्यटक हिमाल चढ्न आउने सिजनमा हिमाल जाने र बाकी समयमा खेतीपाती गरेर गुजरा चलाउँथे । बुवाले पर्यटकको भारी बोक्ने, खाना पकाउने तथा टुरिष्ट गाइडको काम गर्ने भएकाले पनि उनी यो क्षेत्रमा आउन निकै लालायीत भएकी थिइन् ।


कति पटक त उनी भागेरै भारी बोक्न गइन् । घरबाट रोकावट हुँदा पनि उनले त्यसको पर्वाह गरिनन् । हिमालबाट फर्केपछि उनले सबै पैसा आमालाई दिन्थिन् । त्यसपछि भने आमा बुवाले हिमाल जान रोकेनन् । सुरुमा त भारी बोकेर हिँड्न निकै मुस्किल भयो ।


‘दिनभरि भारी बोकेर थाकेको शरिर, खुट्टा दुखेर पाइला सार्न समेत मुस्किल हुन्थ्यो । सानैमा जंगल जाँदा मर्केको खुट्टा बेलाबेलामा दुखिरहन्थ्यो । ठूलो भारी बोक्न कठिन हुन्थ्यो । दुखेको खुट्टा मुसार्दै मनमनै भन्थिन्, ‘मैले आफैमाथि कति अन्याय गरेँ हुँला, ?’ फेरि आफ्नै मनलाई सम्झाउथिन्, ‘मेरो काम नै भारी बोक्ने हो, मेरो खुट्टा दुख्नु र नदुख्नुसंग के नै अर्थ राख्छ र ?’


दिनमा पुरुषसंग प्रतिस्पर्धी बनेर भारी बोकिन् । रातमा उनै पुरुषसंग जोगिन मुस्किल हुन्थ्यो । रातमा सुत्नका लागि क्याम्प बनाइएको हुन्थ्यो । तर, ती क्याम्पहरु अस्थाइ हुन्थे । महिलाहरुका लागि छुट्टै सुत्ने व्यवस्था गरिएपनि सुतेको समयमा कोही आक्रमण गर्न आउने हुन् कि भन्ने डरले उनीहरु राम्रोसँग निदाउन सक्दैनथे । ‘आफ्नो सुरक्षा आफैले गर्नु पर्ने भएकाले हामीहरु रातभरि चनाखो भएर बस्थ्यौँ,’ उनले बिगत कोट्याइन् ।


एक दिन उनी भारी बोकेर सोलु पुगिन् । सोलु पुग्ने बित्तिकै हिँउ पर्यो । जाडो बेस्सरी भयो । महिला भरियाको लागि क्याम्पको दोस्रो कोठामा सुत्ने ब्यवस्था मिलाईएको थियो । गरुङ्गो भारीले दिनभरी हिड्नै सकिनन् । चार हात खुट्टाले टेक्दै उनी बढो मुस्किलका साथ क्याम्प पुगेकी थिइन् । जति थाके पनि आफ्नो काम गर्नैै पथ्र्यो । क्याम्प पुग्नासाथ उनले खाना बनाउने तयारी गर्न थालिन् ।


रात छिप्पिदैँ गयो । खाना खाइवरी सबै जना सुत्ने तरखर गर्न थाले । क्याम्पमा दुइजना मात्र केटी थिए । राती उनीहरु सुतेको क्याम्प नजिकै कोही आए जस्तो आकृति देखियो । चारै तिर अध्याँरो थियो । ‘को आयो’ भन्ने थाहा भएन । आफुतिरै आक्रमण गर्न आए जस्तो मनमा एक किसिमको भयले छाडेन । उनी जुरुक्क उठेर क्याम्प छोडेर बाहिर निस्किइन् ।


रातभरी क्याम्प बाहिर जाडोले लुगलुग काँप्दै बसिन् । बिहान भयो । रातीको कुरा कसैले थाहा पाएनन् या थाहा नपाए जस्तो गरे उनले भेउ पाइनन् । रातभरिको जाडो र अनिदोले उनको टाउको बेजोडले दुखिरहेको थियो । गन्तव्यसम्म पुग्नै पर्ने अर्को बाध्यता पनि थियो । उनी आफू भन्दा ठूलो भारी बोकेर पर्यटकसंगै उकालो लागिन् ।


यस्ता कैयौँ घटनाको उनी प्रत्यक्ष भुक्तभोगी हुन् । उनी १६ वर्षकी हुँदा पहिलो पटक अन्नपूर्ण हिमाल जाँदै थिइन् । पहिलो पटक जान लागेको भएर होला, मनमा अनेक तर्कनाहरु आइरहे । दिनभरि भारी बोकेर हिँडिन् । साँझ परेपछि टोली मुक्तिनाथ पुग्यो । त्यतिबेला उनी किचेन गर्लको रुपमा त्यहाँ पुगेकी थिइन् । मुक्तिनाथ पुगेपछि सबै पर्यटकहरु लाखा–पाखा भए । त्यहाँको मनमोहक दृश्य आफ्नो क्यामेरामा कैद गर्न पर्यटकहरु यत्रतत्र लागेका थिए । उनीे एक्लै भान्सा सम्हाल्न तिर लागिन् ।


पहिलो पटक त्यहाँ पुगेको भएर पनि उनका लागि त्यो ठाउँ नौलो र अनौठो थियो । दिनभरि भारी बोकेको थकानले जिउ चलाउन गाह्रो-गाह्रो भयो । रात परि सक्दा पनि टिमको मान्छे कोही आएनन् । ‘एक्लै भएकोे बेला कसैले आक्रमण गरिहाल्यो भने कसरी जोगिने होला ?’ उनी मनमनै डराइन् । त्यसपछि भान्सामा प्रयोग हुने भाँडाकुडाहरु– डेक्ची, डाडु पन्युँ, प्लेट, बेलना, कुकर, चक्कु जे–जे भेटिन्छ सबै आफ्नो वरिपरि राखिन् । राती अबेरसम्म कोही आएनन् । आफ्नो काम सकाएर उनी क्याम्पमा ढल्किइन् ।


दिउँसोको थकानका कारण उनी भुसुक्क निदाइन् । रातको १२ वजेको हुँदोहो । कोही आए जस्तो उनले चाल पाइन् । निद्रामै छामछुम गर्दा बेलना हातमा आयो । उनले आफ्नो नजिक आउने आकृतिलाई त्यही बेलनाले हिर्काइन् । अध्याँरोमा ‘एैयाऽऽऽऽऽ’ भन्दै त्योे आकृति छट्पटाउँदै भाग्यो ।
बिहान भयो । आफ्नै टिममा खाना पकाउने कुक दाइले टाउकोमा ब्याण्डेज बाँधेर बसेका थिए । ‘पक्कै पनि यीनै हुन् राती म सुतेको ठाउँमा आउने, मोरोलाई ठिक्क पर्यो खुच्चिङ्ग’ भन्दै उनी मनमनै खुसी भइन् । कुक दाइकोे टाउकोमा ठूलो टुटुल्को उठेको थियो । मुख फुलाएर बसेको देखेर लाक्पाले हाँसो थाम्न सकिनन् । उनी बेजोडले हाँसिन् । कुक दाई रिसले भुनभुनाए ।


अन्नपूर्ण पुगुन्जेलसम्म नबोलेका कुक दाई फर्किदा पोखरा आएपछि मात्र बोलेका थिए । उनले यसरी आफ्नो अस्मिता जोगाउनु परेको थियो । ‘दिउँसो भिरबाट लडिने हो की भन्ने पीर हुन्थ्यो, राती पुरुषबाट कसरी जोगिने भन्ने पीरले रातभरी राम्रोसंग निद्रा पर्दैैनथ्यो,’ आफ्नै भरिया जीवनबारे उनी भन्छिन्,‘भरिया जीवन यसै पनि असहज थियो । त्यसमाथि महिलालाई त झनै चुनौति थियो । ति हरेक चुनौतिलाई मैले सामना गरेँ ।’

SONY DSC


गाउँकी सोझी र जिद्धी केटी, पर्यटक र अन्य साथीहरुसंगको संगतले उनलाई चलाख बनायो । पोखरामा भारी तौलेर बोकाइन्थ्यो । भारी तौलिनु भन्दा पहिले उनले भारीमा ढुङ्गा राखिदिन्थिन् । तौलेको भारी बोकेर उनी आफ्नो बाटो लाग्थिन् । अरुले नदेख्ने गरि बाटोमा पुगेर ढुङ्गा निकालेर फ्याँकिदिन्थिन् । ‘यसाे गरिएन भने त कसरी केटाहरुसंग उकालो चढ्न सक्नु नी,’ उनले बिगत कोट्याइन्,‘तलव बराबर पाउने भएपछि भारी पनि त बराबर बोक्नु पर्छ भन्ने मान्यता राखिएको हुन्थ्यो । हाम्रो शरिरले सकोस् या नसकोस्, त्यसको केही मलतब गरिदैनथ्यो । बस, भारी चाँही सबैले बराबर नै बोक्नु पथ्र्यो ।’


पर्यटकहरु पनि आ आफ्नै स्वभावका थिए । कोही अति मिलनसार र मिजासिला हुन्थे । केही त निकै आक्रामक स्वभावका पनि हुन्थे । कसैले माया पनि गर्थे । एकपटक भारी बोक्ने क्रममा चिनियाँ पर्यटकले उनीमाथि आक्रमण गरे । उनी चिनियामाथि जाइलागिन् ।


उता गाउँमा भने अर्कै कुरा पुगेछ । ‘लाक्फुटी त चिनियाँसंग लसपस गर्दै हिँड्छे’ यो कुरा घरमा आमा बुवाको कानमा पनि पर्यो । उनी घर पुगेपछि बुवाले मरणसन्न हुने गरि कुटे । बुवाको कुटाइका कारण उनी एकहप्तासम्म उठ्न सकिनन् । बुवाको कुटाइ भन्दा पनि गल्ती नहुँदा सजाँय भोग्नु परेको कुराले उनीभित्र गहिरो पीडा दियो । उनी निकै रोइन् । आफ्नै परिवारप्रतिको भरोसा टुट्यो । अरुको कुरा सुनेर आफूमाथि विश्वास नगरेको प्रति बुवासंग उनी निकै रिसाइन् ।


उता बुवा आमाले छोरीको विवाह गरिदिने योजना बनाए । तर, उनी विवाहको लागि राजी थिइनन् । आफुले गल्ती नगर्दा पनि कुटाई खानु परेको पीडा र चिन्दै नचिनेको व्यक्तिसंग विवाह गर्नुपर्ने वाध्यताका कारण उनले घर छोड्ने निर्णय गरिन् । त्यसपछि उनी राती सुटुक्क घरबाट निस्किइन् । उनी त्यतिबेला भागेर काठमाडौँ गएकी थिइन् ।


काठमाडौँ आएपछि उनका दुखका दिनहरु सुरु भए । साथीहरुसँग मिलेर काम गर्थिन् । काम गरेको पैसा बेलामा नपाइने, पाएपनि पुरै नपाइने । ‘बरु भारी बोक्नै ठिक थियो,’ उनले मनमनै सोँचिन् । काठमाडौँमा दुख गरेरै भए पनि उनले अग्रेजी भाषाको कक्षा लिइन् । पहिले भन्दा टुटेफुटे अग्रेजी बोल्न सक्ने भइसकेकी थिइन् । काठमाडौँमै लुक्ला जाने पर्यटकहरु भेटेपछि उनी पुनः भरिया बनेर त्यता तर्फ लागिन् ।

Hundreds of climbers, guides, and Sherpas trudge toward Camp IV on May 18.


भारी बोक्ने क्रममै एकजना स्वीस नागरिकसंग उनको भेट भयो । सामान्य हिमचिम पछि ती नागरिकले उनीसँग विवाह प्रस्ताव राखे । उनी आत्तिइन् । ‘म अनपढ मान्छे, भारी बोकेर जीविका चलाउने मान्छे, कसरी विदेशीसँग विवाह गर्नु ?’ उनको मनसाय थियो । तर, ति स्वीस नागरिकले उनका हरेक समस्यामा पुल बनेर साथ दिए । उनले गरेको माया देखेर लाक्पा भित्रको ढुङ्गाको मन पग्लियो । त्यसपछि २३ वर्षको उमेरमा उनै स्वीस नागरिकसँग विवाह गरेर उनी स्वीजरल्याण्ड गइन् । स्वीजरल्याण्ड गएपछि उनी छोराको आमा बनिन् ।


समय बित्दै गयो । बच्चा हुर्काउँदै उनले काम पनि गर्थिन् । त्यतिबेला उनी १० वर्ष स्वीजरल्याण्ड बसिन् । विहे गरेको ३, ४ वर्षसम्म श्रीमानसंगको सम्वन्ध राम्रै थियो । त्यसपछिका दिन भने उनले सोचे जस्तो भएन । निकै पटक छुट्न खोजेकी थिइन् । तर, बच्चाका कारण पनि उनी १० वर्षसम्म त्यहीँ बसिन् ।


‘जुन सम्वन्धमा बिचारको कदर हुँदैन, त्यो सम्वन्ध तन्काइरहनु उचित हुँदैन,’ उनले भनिन् । आत्मसम्मानकाे खोजी गर्दै पहिलो श्रीमानबाट सम्वन्ध बिच्छेद गरिन् र स्वतन्त्र जीवन जीउने प्रण गर्दै १० वर्ष पछि उनी नेपाल आइन् ।

आखिर समयले उनलाई वल्लो कुना देखि पल्लो छेउमा पुर्याएरै छाड्यो । त्यसपछि उनी निकै तनावमा रहिन् । तर, जीन्दगीको डोरी तन्काउनै थियो ।

उनले त्याे डाेरी एक्लैले तन्काउँदै अगाडि बढिन् । नेपाल आएपछि उनले पर्यटन व्यावसायमा हात हालिन् । भरिया जीवन र स्वीजरल्याण्डमा सिकेको सिपलाई पर्यटन व्यावसायमा उतार्दै उनले नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाईमा पुर्याइन् ।

सानैदेखिको हिमाल चढ्ने रहर स्वीजरल्याण्डबाट नेपाल फर्के पछि पून: जीबित भयो । उनकै बालसखा, नाताले दिदी पर्ने पासाङ्ग ल्हामु शेर्पालाई भेटेर आफ्नो योजना सुनाइन् । पासाङ र लाक्पा कैयौँ पटक सँगै भारी बोकेर हिमाल गएका थिए । सानै छँदा भारी बोक्ने क्रममा दुई जनाले सल्लाह गरेका थिए, ‘हामी पनि एकदिन हिमाल चढ्नुपर्छ ।’

त्यसपछि नेपाली महिला सगरमाथा आरोहीको टिम बनाएर २०५० सालमा नन्दा राई, पासाङ ल्हामु सेर्पा र लाक्पा फुटी शेर्पाले पहिलो पटक सगरमाथा यात्राको तयारी गरे ।


पासाङले पहिलो टिमको नेत्तृव गरेको भएर उनी अगाडी बढिन् । लाक्पा भने, साथीको स्वास्थ्य अवस्था बिग्रिएका कारण क्याम्प ३ मै साथीको हेरचाह गर्नतिर लागिन् । उता पासाङ चुचुरोमा पुगेर फर्कदैँ थिइन् । फर्कने क्रममा माथिबाट हिँउ पहिरो आयो । त्यही पहिरोमा परेर पासाङले आफ्नो जीवन गुमाइन् ।


पहिलो दिन पासाङले सगरमाथा आरोहण गरेको खबर स्याटालाईट फोन मार्फत संसार भरि फैलियो । नेपाल र नेपालीका लागि मात्र होइन विश्वका महिलाहरुका लागि गौरवको कुरा थियो । बुवा आमा, दाजु भाई तथा सबै गाउँलेहरुले रक्सी खाएर खुसियाली मनाए ।


दोस्रो दिन फर्किने क्रममा पासाङ्गको मृत्यु भएको कुरा संसारभरका मिडियाले मुख्य खवर बनाए । घरमा रुवाबासी चल्यो । पासाङ्गसंगै लाक्फुटीको पनि मृत्यु भयो भनेर आमा बुवा शोकमा डुबे । तर, लाक्पा भने क्याम्प ३ मै थिइन् । माथी के भइरहेको छ भन्ने कुरा लाक्पालाई केही थाहा थिएन । यद्यपी, पासाङ्गको मृत्यु बारे उनी अनभिज्ञ थिइन् ।


३ दिन पछि उनी आधारशिविर झरिन् । गाउँबाट उनको भाई लगायत थुप्रै मान्छे सगरमाथाको आधार शिविर आएका रहेछन् । उनले त्यतिबेला मात्र थाहा पाइन् दिदीको मृत्यु भएको खवर । लाक्पालाई ज्यूदैँ देखेर भाईले अंगालो हालेर रोए । उनी पनि धेरै बेर रोइन् ।


त्यो दिनको सम्झना गर्दै लाक्पा भन्छिन्, ‘पासाङ दिदी फर्केर आएपछि म माथि उक्लिने कुरा थियो तर, दिदीको बाटैमा मृत्यु भएछ, त्यो दिन मेरो लागि निकै दुःखदायी थियो ।’


लाक्पाले आफ्नो मिल्ने साथी तथा नजिकको दिदी गुमाइन् । त्यती मात्र होइन, सिङ्गो देशले एक साहासी, र पहिलो महिला सगरमाथा आरोही गुमाएकाे थियाे त्यतीबेला ।


त्यसो त, लाक्पाकोे शरिर र स्वास्थ्यले साथ दिँदादिँदै पनि चुचुरोसम्म पुग्न नपाएको प्रति उनको मनमा तीव्र असन्तुष्टि रह्यो । पासाङ्गसंगका कैयौँ तिता-मिठा यादहरु बोकेर उनी काठमाडौँ फर्किइन् । दिदीको मृत्युपछि लाक्पाको सगरमाथा आरोहण गर्ने सपना पुरा हुन सकेन । न त दोस्रो पटक हिमाल आरोहण गर्ने आँट आयो ।


‘म हिमाल छोडेर आफ्नै तरिकाले जिउने प्रण गरेँ । मेरो जीवनका सबै भोगाई शब्दमा अटाउन सक्दैनन् । कति कुरा मिठा थिए । कति कुरा नमिठा थिए । पहिलेका कतिपय कुरा ग्रहण गर्न नै मुस्किल थियो । तर, अहिले सबै नर्मल लाग्छन्,’ उनी बिगत सम्झन्छिन् ।


पासाङले हिमालको चुचुरोसम्मै पुगेर विश्व कृतिमानी कमाए पनि आफुले जीवन कमाएको उनको धरणा छ । त्यसो त, आफु चुचुरोसम्म पुग्न नपाए पनि पासाङ्गको सपनालाई आफु बाँचेर पुरा गरेकाे उनकाे भनाइ छ । शायद, उनी पनि पासाङ्गसंगै मृत्युवरण गर्न पुगेकी हुन्थिन् भने, आज हरेक नेपालीका लागि सगरमाथा नौलो संसार हुने थियो ।

त्यो घटनापछि लाक्पा पर्यटन व्यावसाय तर्फ लागिन् । उनले हिमाल चढ्न चाहने जो कसैका लागि मार्ग प्रशस्त गर्दै आइन् । उनकै पहलमा सयौँले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।


उनी पर्यटन क्षेत्रमा कृयाशिल थिइन् । यसैक्रममा उनी ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल(टान)को कार्यकारी सदस्यको रुपमा निर्वाचित भइन् । टानको एक कार्यक्रममा उनको भेट पर्यटन ब्यवशायी लाक्पा शेर्पासँग भयो । टुुरिष्ट गाइडका रुपमा लामो समयदेखि काम गर्दै आएका लाक्पासंगको परिचय उनकै साथीले गराइदिएकी थिइन् । लाक्पासँग भेट बाक्लीदै गयो । संयोग उनीहरु दुवैको पहिलो विवाह असफल भएको थियो । मन मिल्दै गएपछि उनीहरु दुवैले सँगै जीउने वाचा गरे ।

त्यतिबेला उनी ३४ वर्षकी थिइन् । ‘उहाँसंगको भेट र विवाह पनि मेरो लागि संयोग नैै थियो,’ लाक्पा फूटी आफ्नो दोस्रो विवाहाबारे भन्दै थिइन्,‘हामी दुवै जना आ-आफ्नो संघर्ष गर्दै अगाडी बढेका छौँ । हामी दुबै जना आत्म निर्भर र स्वतन्त्र छौँ । हामी आफ्नो जिम्मेवारी आ–आफ्नै तरिकाले बहन गर्छौ । म काम गर्दा म एक्लै छु भनेर काम गर्छु, मेरो श्रीमान हुनु हुन्छ, उहाँले साथ दिनु होला भनेर मैले अपेक्षा गर्दिन । उहाँले पनि मेरो अपेक्षा गर्नु हुन्न ।’ आफ्नाे बैवाहिक जीवन र कामका बारेमा उनले बेलीबिस्तार लगाइन् ।


उनी टानमा रहँदा ‘दिगो पर्यटन बजार’ सम्बन्धी पढाईका लागि उनी होल्याण्ड पुगिन् । त्यो विषय पढ्नका लागि स्नातक अथवा स्नातकोत्तर पढाई सकेको हुनु पर्ने थियो । तर, उनीसंग कुनै सर्टिफिकेट थिएन । उनीसंग जे थियो, अथाह अनुभव र तालिमको सर्टिफिकेट मात्र थियो । त्यही अनुभव पेश गरेको आधारमा उनी उक्त विषय पढ्नका लागि छनौट भएकी थिइन् ।


८ महिना होल्याण्ड बसेर कोर्ष पुरा गरिन् । त्यहाँको बसाई र बौद्धिक वर्गहरुसंगको संगत उनका लागि निकै फलदायी सावित भयो । उनले त्यहाँ सिकेको सीप र अनुभवलाई उनले नेपालमै लागु गर्न कम्मर कसिँन् ।


नेपालमा पर्यटन व्यावसायको सम्भावना प्रचुर संभावना छ । तर, पर्यटन मन्त्रालय र त्यस मातहतका निकायमा कुशल नेतृत्व नभएका कारण पनि नेपालको पर्यटन व्यावसाय खासै फस्टाउन सकेको थिएन । २०६६ सालमा उनी पर्यटन मन्त्रालय अन्र्तगत ‘नेपाल माउन्टेन एकेडेमी’को कार्यकारी सदस्यको रुपमा नियुक्त भइन् । त्यसपछि भने माउन्टेन एकेडेमी र मन्त्रालयका कामले समेत गति लियो ।


माउन्टेन एकेडेमीमा साडे दुई वर्ष काम गरेको अनुभव छँदैथियो । त्यसपछि उनको कार्यकुशलता, क्षमता र संघर्षको मुल्यांकनका आधारमा उनी कार्यकारी निर्देशक पदमा नियुक्त भईन् ।


माउन्टेन एकेडेमीमा आठ वर्ष कार्यकरी पदमै रहेर काम गरिन् । त्यतिबेला उनकै पहलमा ९ जना निजामती कर्मचारीसहित १५ जनाले सगरमाथा आरोहण गरेका थिए । ‘शेर्पाहरु मात्र हिमाल चढ्न सक्छन्’ भन्ने कथनलाई उनले गलत सबित गराईदिएकी थिइन् त्यतीबेला ।


‘म कहिल्यै पनि नेपाल सरकारको प्रशासनिक ठाउँमा नपुगेको मान्छे । मलाई काम गर्ने तौर–तरिका थाहा थिएन । तर पनि काम गर्दै जाँदा सबैको सहयोग मिल्यो, आफ्ना अनुभवहरु प्रयोग गरेँ र सहजताका साथ आफ्नो काम गर्न सकेँ,’ उनले थपिन् ।


‘व्याचलर अफ माउन्टेनिङ’ पर्यटक जोखिम पर्वतारोहण सम्बन्धी स्नातक तहको कोर्ष त्रिभुवन विश्व बिद्यालयमा पठन पाठन भइरहेको छ । यो विषय बिश्वका अरु कुनै पनि देशमा पठन पाठन भएको पाँइदैन । तर, लाक्पाले नेपालमा यो कोर्ष स्थापना गर्नका लागि पहल गरिन् । उनको यो कार्यको चौतर्फी प्रशंसा पनि भयो । यो कोर्ष अहिले त्रिभुवन विश्व बिद्यालयमा तेस्रो बर्षको कक्षा संचालन भइरहेकोे छ । जहाँ ७५ जना बिद्यार्थीहरु अध्ययनरत छन् ।


‘सुरुमा स्वीजरल्याण्डले यो कोर्षको थालनी गर्न खोजेको रहेछ । इन्डियाले पनि कोशिस गरेको रहेछ, पाकिस्तानमा त्यहाँको आर्मी पुलिसका लागि यो कोर्ष स्थापना गर्न खोजिएको रहेछ । तर, यो कोर्ष स्थापना गर्न कुनै पनि देश सफल भएनन् । हिमालयको देशमा हामीले भने बिश्वमै पहिलो पटक यो कोर्षको स्थापना गरेरै छाड्यौँ, यो ऐतिहासिक सफलता पनि थियो,’ कोर्ष स्थापना गर्न सफल भएकोमा लाक्पाले खुसी व्यक्त गरिन् ।


उनी पढ्नका लागि कहिल्यै पनि विश्वबिद्यालय धाइनन् । तर, पढ्न चाहानेका लागि उनी आफै एउटा ठूलो किताब बनिन् । ‘अहिले सम्म मान्छेहरुले माउन्टेन भन्नाले हिमाल चढ्ने र ओर्लने भन्ने मात्र बुझेका छन् । माउन्टेनसंग सम्बन्धित पक्षहरु त धेरै छन् । त्यसै कुरालाई हामीले युनिभर्सिटीको कोर्ष नै बनाएर पढाई गर्ने बातावरण निर्माण गर्यौ,’ कोर्षका बारे उनको व्याख्या छ । स्नातक तह सम्म मात्र पढाई भइरहेको यो बिषय अब स्नातकोत्तर तहसम्म संचालन गरिनेछ ।त्यसका लागि त्रिभुवन बिश्व विद्यालयले अनुमती दिइसकेकाे उनले बताइन् ।

माउन्टेन एकेडेमीकाे अध्यक्ष जस्ताे पदमा रहेर काम गर्न पाउनु आफ्ना लागि अत्यन्तै ठुलाे शाैभाग्य रहेकाे उनकाे ठम्याँइ छ । त्यसाे त अवरसर र चुनाैती पनि उत्तकै रहेकाे उनी बताउँछिन् । ‘म त पदमा रहँदा पार्टीको कलर नै देख्दिन, मात्र राष्ट्रको कलर देख्छु । मेरो देश अरु देश भन्दा राम्रो हुनुपर्छ । म कुनै जात, भुगोल, क्षेत्र, पार्टी, लिङ्ग प्रति बिश्वास गर्दिन । म मेरो ड्युटी के हो र कसरी अगाडी बढ्ने भनेर मात्र सोँच्छु,’ उनी भन्छिन् ।


अहिलेसम्म ४ सय भन्दा बढी महिला पर्वतारोही उत्पादन गरेकी उनले आउँदा दिनमा पनि महिलाहरुका लागि मार्ग प्रशस्त गर्ने बताउँछिन् । अहिले उनी नेपाल माउन्टेन एकेडेमीको अध्यक्ष रुपमा कार्यरत छिन् । ‘मौका पाएको खण्डमा महिलाहरुले जस्तो सुकै काम पनि सहजताका साथ गर्न सक्छन्’ भन्ने एउटा गतिलो उदाहरण उनी आफै हुन् ।


‘मैले आफ्नै घरबाट बिद्रोह गरेर भरिया बने । भागेर काठमाडौँ आएँ । आफ्नो बलबुताले भ्याएसम्म पर्यटन क्षेत्रमा राम्रै गरेकी छु । त्यसैले महिलाहरुलाई इच्छाशक्ति र अवसरको खाँचो छ । यती भएको खण्डमा सबै महिलाहरु अघि बढ्न सक्छन् र श्रीमानको कमाइमा मात्र भर पर्नु पर्ने स्थीति आउँदैन,’ उनको अनुभव छ ।

उनले आफ्नै गाउँमा आफुले पढ्न नपाएको बिद्यालको स्तरोन्नतीका लागि पहल गरिन् । एड्मन हिलारीले निर्माण गरेको स्कुल कक्षा ६ सम्म मात्र थियो । त्यो बिद्यालयलार्ई बढाएर उनले १० कक्षासम्म पढाई हुने वातावरण बनाइन् ।


‘पहिले त महिलाहरु स्कुल नै जाँदैनथे । म आफै पनि स्कुल जान नपाएको एक पात्र हुँ । म आफु स्कुल जान नपाए पनि अहिलेका छोरी चेलीहरु स्कुल जानबाट बञ्चित हुन नपरोस भनेर मैले रोटरी क्लव र मेरो आफ्नो पहलमा स्कुललाई १० कक्षासम्म बिस्तार गरेकी हुँ,’ उनले आफुले गरेकाे कार्य प्रती गर्व गर्छिन् । बिद्यालय स्थापनाका लागि पहल गरेका कारण लाक्पा सोही बिद्यालयबाट सम्मानित पनि भइन् ।


उनी आफैमा बलियो आत्मबिश्वास भएकी र हठी स्वभावको मान्छे हुन् । कडा भन्दा कडा मेहनत गर्न सक्ने, हिम्मतवाली महिलाका रुपमा उनी चिनिदै आएकी छिन् । उनले आफ्नो भोगाइ र सघर्षका कथाहरुलाई समेटेर दुई वटा पुस्तक समेत प्रकाशन गरेकी छिन् ।

‘हिमालकी छोरी’ र ‘हिमालमा ४० वर्ष’ नामक उपन्यासमा उनले आफ्ना अनुभवहरु समेटेकी छिन् । ‘मैले आफुलाई ‘लेखक’ हुँ भनेर भन्दिन, तर, हिमालकी पहिलो महिला लेखिका तथा साहित्कार भनेर मेरो चर्चा हुँदो रहेछ ।’ उनले आफ्नाे पुस्तक र लेखन कलाबारेकाे अनुभव सुनाइन् ।