काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद राघुविर महासेठले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई ‘अपराधी’ भनेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै महासेठले महतोको बचाउ गरेका हुन्।
यस्तै, महासेठले कोइरीको मुद्धामा एमालेले कुनै हस्तक्षेप नगर्ने भन्दै उनलाई लागेको मुद्धामा भने कुनै सत्यता नरहेको दाबी गरे।
यस्तै, महतो पार्टीको सम्पर्कमा नरहेको भन्दै प्रहरीले हिरासतमा लिएको शंका गर्दै सार्वजनिक गर्न महासेठले माग गरेका छन्।
‘लक्ष्मी महतो हाम्रो पार्टीको सम्पर्कमा हुनुहुन्न। प्रहरी प्रशासनले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नु पर्यो। यदि लिएको छैन भने कानुनअनुसार प्रहरी प्रशासनले जुन कारबाही गरिरहेको छ र एमालेमाथि जुन आरोप लागेको छ त्यसमा कुनै सत्यता छैन,’ महासेठले भने, ‘म सदनमार्फत् गृहमन्त्रीलाई आग्रह गर्छु तपाईंहरु काम गर्नुहोस्। उहाँलाई समात्नै पर्ने छ भने तपाईंहरु समात्नुहोस्, नेकपा एमाले र यसका नेताबाट कुनै बाधा अवरोध आउने छैन। अहिले लक्ष्मी महतोलाई अपराधी भन्ने शब्दहरु प्रयोग भएको छ। अहिलेसम्म अदालतले उहाँलाई दोषी करार गरेको छैन। थुनछेक गरेर कारबाही गर्ने कुरा गरेको छ, तर अपराधी हो भनेर निर्णय गरेको छैन। लक्ष्मी महतोलाई अपराधी भनेर चर्चा गरेका छौँ। त्यो नगरौँ। आज जति उहाँको चाहिने–नचाहिने कुरा गरेका छौँ। म अनुरोध गर्न चाहान्छु। अहिले उहाँबारे कुनै धारणा नबनाऔँ।’
एमाले सांसद कोइरीलाई मधेस आन्दोलनका क्रममा हत्यामा संलग्न रहेको आरोप छ। उनी फरार पनि हुँदै आएका थिए।