एमआरपी विवादका कारण वीरगन्ज भन्सारमा मालवाहक सवारी ठप्प, राजस्व संकलन प्रभावित

दियोपोस्ट संवाददाता  

काठमाडौँ । वीरगन्ज भन्सार क्षेत्रमा एक सातादेखि मालवाहक सवारीसाधनको आवागमन अवरुद्ध भएको छ। वैशाख १५ गतेदेखि भन्सार जाँचपास प्रक्रियामा समस्या उत्पन्न भइ सवारी साधन आवागमन अवरुद्ध भएको हो।

यसका कारण भारतको रक्सौल क्षेत्रमा समेत मालवाहक सवारीसाधन लामो लाइनमा रोकिएका छन्। भन्सार विन्दुमा आयात हुने वस्तुहरूमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गर्ने प्रयाससँगै अत्यावश्यक पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, तरकारी र फलफूल बाहेकका अन्य सामग्रीको जाँचपास ठप्प भएको बतायएको छ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार दैनिक करिब दुई सयभन्दा बढी मालवाहक सवारी थपिँदै गएका कारण हालसम्म झण्डै एक हजार चार सय सवारीसाधन जाँच प्रक्रियामा रोकिएका छन्।

सरकारले वैशाख १५ गतेदेखि आयात तथा निर्यात हुने सामग्रीमा एमआरपी लागू गर्ने निर्णय गरेको थियो। तर, उक्त व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आयातकर्ता र निर्यातकर्ताहरूले विरोध गर्दै आएका छन्। वीरगन्जस्थित एकीकृत सुरक्षा भन्सार जाँचचौकी व्यवस्थापन गरिरहेको टीआरएस हिमालयन लजिस्टिक पार्क प्रालिका इन्चार्ज गणेश घिमिरेले भन्सार प्रक्रिया अवरुद्ध हुँदा भारतीय सडकमा समेत सवारीको भीड बढेको बताए। उनले समस्या छिटो समाधान हुनुपर्नेमा जोड दिए।

वीरगन्ज भन्सार कार्यालयले सामान्य अवस्थामा दैनिक ५० देखि ६० करोड रुपैयाँसम्म राजस्व संकलन गर्दै आएको छ। वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले समस्या लामो समयसम्म जारी रहँदा राज्य र व्यवसायी दुवै पक्षलाई घाटा हुने भएकाले आपसी समन्वयमार्फत चाँडो समाधान गर्न आग्रह गरेका छन्।

सिफारिस