पुथा उत्तरगङ्गामा संचालित कागती परियोजनामा अनियमितता, सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

दियोपोस्ट संवाददाता  

काठमाडौँ । रूकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा सञ्चालित कागती पकेट विकास कार्यक्रममा अनियमितता गरेको आरोपमा सात जना तथा एक संस्थाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादव सहितका व्यक्तिहरूविरुद्ध ११ लाख ६९ हजार ७६० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले दिएको जानकारी अनुसार मुद्दा दायर हुनेहरूमा वडा नं.१२ का तत्कालीन वडाध्यक्ष गङ्गाबहादुर पुन, इन्जिनियर खुबिराज शाही, सब–इन्जिनियर कमलप्रसाद केसी, योजना शाखा प्रमुख चित्रबहादुर केसी, कृषि प्राविधिक ओम प्रकाश ओली, सह-लेखापाल नवराज खड्का, साथै पुथा हिमालयन अर्गानिक कृषि प्रा.लि. र यसका अध्यक्ष सुजन पुन रहेका छन्।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत संघीय सशर्त अनुदानबाट सञ्चालित कागती पकेट विकास कार्यक्रम (छमारी, वडा नं. १२) कार्यान्वयनका क्रममा सम्झौताविपरीत काम गरिएको थियो। फिल्डमा वास्तविक रूपमा नभएको कामलाई नापी किताबमा देखाई बढी मूल्याङ्कन गरी भुक्तानी लिइएको, जसबाट सरकारी सम्पत्तिको हिनामिना तथा दुरुपयोग भएको आरोप छ।

यस प्रकरणमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार कारबाही माग गर्दै विशेष अदालत, काठमाडौँमा मंगलबार आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

सिफारिस