काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमै १७५ रनमा समेटियो।
ओमानका कप्तान जतिन्दरले १२ रनबाट इनिङ्सको सुरुआत गरे पनि लामो समय टिक्न सकेनन्। हस्नैन उल वहाबले २९ रन बनाए भने मध्यक्रममा हम्माद मिर्जाले ३४ रन र विनायक शुक्लाले ३६ रन जोड्दै संघर्ष गरे। यद्यपि, अन्य ब्याट्सम्यानले निरन्तर विकेट गुमाउँदा ओमानले बलियो साझेदारी बनाउन सकेन।
अन्य खेलाडीहरूमा आर्यन बिष्टले ६, जितेन रमणान्दीले ३ र वसीम अलीले १० रन मात्र जोडे। अन्त्यतिर हस्नैन शाहले १४ र नदीम खानले १२ रन बनाए पनि टोलीलाई जिततर्फ लैजान पर्याप्त भएन।
नेपालका लागि गुल्सन झाले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। सन्दीप लामिछाने, करण केसी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान एक-एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९।५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको थियो। सुरुआतमै विनोद भण्डारी शून्यमै आउट भएपछि दबाबमा परेको नेपाललाई आसिफ शेख र अर्जुन कुमालले सम्हालेका थिए।
आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ९४ रन बनाए, जसमा उनले ७ चौका र ५ छक्का प्रहार गरे। अर्जुन कुमालले ४८ रनको योगदान दिए भने दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे।
अन्तिम चरणमा आरिफ शेखले आक्रामक ब्याटिङ गर्दै २४ बलमा ४३ रन बनाएपछि नेपालले सम्मानजनक योगफल तयार गरेको थियो। ओमानका लागि नदीम खानले ३ विकेट लिए भने शकिल अहमद र हस्नैन शाहले समान २-२ विकेट हात पारे।