काठमाडौं । गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्स दुर्घटनापछि पोखरा रुटमा उडानसँगै यात्रुको संख्यामा कमी आएको छ ।
दुर्घटना अघिसम्म दैनिक १२ उडान गरेको बुद्ध एयरले दुर्घटनाको ११ औँ दिन हुँदा हाल दैनिक ८ वटा उडान गर्दै आएको छ । बुद्धले पोखरा विमानस्थललाई आधार बनाएर भैरहवा, नेपालगञ्ज र भरतपुरमा नियमित उडान गर्ने गरेको थियो । उक्त रुटमा दुर्घटनापछि ५० प्रतिशत उडान कटौती भएको छ । दुर्घटना अघिसम्म यती एयरलाइन्सले दैनिक ६ उडान गर्ने गरेकोमा हाल दैनिक ३ वटा मात्र उडान हुँदै आएको छ । पोखरा रुटमा उडान गर्ने बुद्ध र यती एयरलाइन्ससँगै श्रीएयरलाइन्स र गुण एयरले समेत हवाई यात्रुसँगै उडान संख्यामा कमी आएको बताएका छन् ।
माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि हवाई सेवा पुरानै लयमा फर्कन सकेको छैन । अफ सिजन हुँदा र दुर्घटनाका कारण हवाई यात्रुहरु न्यून भएको वायुसेवा कम्पनीहरुले बताएका छन् ।
यती एयरलाइन्सको पोखरा दुर्घटनापछि समग्र रुटमा ५० प्रतिशतभन्दा बढि उडान घटेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । पोखरा दुर्घटनापछि हवाई उडान घट्नु स्वभाविक भएको भन्दै विस्तारै बढ्दो क्रममा रहेको उनले बताए ।
वायुसेवा कम्पनीको उडान संख्या
वायुसेवा कम्पनी सामान्यतया उडान संख्या हाल उडान संख्या गिरावट दर
बुद्ध एयर ७५ ६० २०%
यती एयरलाइन्स २५ १३ ४८%
श्री एयरलाइन्स २० १३ ३५%
सौर्य एयरलाइन्स ८ ६ २५%
गुण एयरलाइन्स ५ ५ ०%
कुल १३३ ९७ २७%