काठमाडौँमा अपराधको ग्राफ : सोमबार र मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेको समयमा धेरै अपराध

दियोपोस्ट संवाददाता

काठमाडौँ । हुन त अपराधका घटना जुनसुकै बार, समय र महिनामा पनि हुन सक्छन् । तर काठमाडौं जिल्लामा भएका अपराधका घटनाहरूको विश्लेषण गर्दा सोमबार र मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेको समयमा धेरै अपराधका घटना भएको पाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आर्थिक वर्ष २०८२।०८३ को अवधिमा अभिलेख गरेका घटनाहरूको विश्लेषण गर्दा, बार, महिना र समयको आधारमा अपराधका घटनामा स्पष्ट भिन्नता देखिएको हो । राजधानी काठमाडौंको आपराधिक गतिविधिले एउटा निश्चित तालिका र लय पछ्याएको तथ्यांकले देखाएको छ । तथ्यांकको गहिराइमा जाँदा, काठमाडौँवासीका लागि ‘सबैभन्दा असुरक्षित महिना’, ‘बार’ र ‘समय’ कुन हुन् भन्ने रोचक तथ्यसमेत उजागर भएको छ ।

काठमाडौँ प्रहरीको क्राइम प्याटर्न अनाइलाइसिमा सबैभन्दा उच्च जोखिमको समय साताको दोस्रो दिन अर्थात् सोमबार र मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेको समय रहेको देखाएको छ । यसै गरी वर्षभरिको चक्रलाई हेर्दा चैत महिना अपराधका घटनामा सबैभन्दा ‘पीक’ महिनाका रूपमा रहेको पाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईका अनुसार, आर्थिक वर्ष २०८२।०८३ मा जिल्लामा कूल ११ हजार ७८ वटा अपराधका मुद्दा दर्ता भएका थिए । यो तथ्यांकले सुरक्षा निकायलाई मात्र नभई आम नागरिकलाई पनि आफ्नो दैनिकी र सुरक्षा सावधानीको पुनर्मुल्याङ्कन गर्न संकेत गरेको छ ।

चैतमा ‘पिक’ र असोजमा केही शान्त
काठमाडौँ प्रहरीले तयार पारेको आर्थिक वर्ष २०८२।०८३ को क्राइम प्याटर्न एनालाइसिसमा महिनागत तथ्यांक हेर्दा वर्षको अन्तिम महिना अर्थात् चैत सबैभन्दा बढी अपराध हुने महिनाका रूपमा देखिएको छ । चैत महिनामा मात्रै १ हजार १६६ वटा अपराधका घटना भई मुद्दा दर्ता भएका छन् । चैतमा अपराधका घटनामा वृद्धि हुनुमा गर्मीका कारण बाहिरी चहलपहल बढ्नु लगायतका कारणहरू हुन सक्ने प्रहरीले जनाएको छ । चैतपछि जेठ महिनामा १ हजार १६० घटनाका साथ अपराध बढी हुने दोस्रो मपिहनाका रूपमा रहेको छ । साउन महिनामा १ हजार १५४ अपराधका घटना भई तेस्रो अपराध बढी हुने महिनाका रूपमा पाइएको छ ।

प्रहरीको तथ्यांक अनुसार केही महिनामा भने अपराधका घटनामा उल्लेखनीय कमी भएको पाइएको छ । बढी सुरक्षा सतर्कता समेत हुने भएकाले चाडपर्वको मौसम अर्थात् असोज महिनामा सबैभन्दा कम अर्थात् ४०५ वटा मात्रै अपराधका घटना भएका छन्, जुन अन्य महिनाको तुलनामा आधाभन्दा कम हो । यसको मुख्य कारण प्रहरीको विशेष सुरक्षा सतर्कता र नागरिकहरू चाडपर्वको रमझममा केन्द्रित हुनु रहेको प्रहरीले बताएको छ । यसै गरी जाडो मौसममा पनि अपराधका घटनामा केही कमी आएको पाइएको छ । चाडपर्व र जाडो लाग्न सुरु गर्ने भएकाले कात्तिक महिनामा ६३३, मंसिरमा ७७१, पौषमा ९६२ र फागुनमा फेरि घटेर ६५३ अपराधका घटना भएका छन् ।

सोमबार सबैभन्दा बढी अपराध
काठमाडौँ प्रहरीको क्राइम प्याटर्न एनालाइसिसमा सोमबार बढी अपराधका घटना भएको पाइएको छ । तथ्यांक अनुसार साताभरिका घटनाहरूमध्ये सबैभन्दा धेरै अपराध सोमबारको दिन हुने गरेको पाइएको छ । सोमबारको दिन मात्रै २ हजार २९८ वटा अपराधका घटना भई मुद्दा दर्ता भएका छन् । यो कुल अपराधका घटनाको २० प्रतिशतभन्दा बढी हो । पहिले साताको दोस्रो दिन र हाल आइतबार पनि बिदा दिन सुरु गरेपछि पहिलो दिनमै अपराधका घटना बढी हुने गरेको देखिएको हो ।

सोमबार अपराधका घटना बढी हुनुमा सप्ताहान्तको विश्रामपछि सुरु हुने व्यस्तता वा कामको चाप, व्यक्तिगत तनाव, आर्थिक कारोबारको चाप, सर्वसाधारणको उच्च उपस्थिति र घरमा मानिसहरूको उपस्थिति कम हुनुले चोरी लगायतका अपराधका घटनासमेत कारक हुनसक्ने प्रहरीले जनाएको छ ।

सोमबारपछि बढी अपराध हुने दिनका रूपमा बुधबार १ हजार ७३१ र बिहीबार १ हजार ६१३ घटना भई मुद्दा दर्ता भएका छन् । रोचक कुरा के छ भने साताको अन्तिमतिर आइपुग्दा अपराधका घटनामा उल्लेख्य कमी आएको देखिन्छ । यसमा शुक्रबार १ हजार २६९ र शनिबार १ हजार १५५ वटा अपराधका घटनामा सीमित रहेको छ । अन्तर्राष्ट्रिय अपराध प्रवृत्तिका अध्ययनहरूले पनि सप्ताहान्तमा ठुला घटनामा कमी आउने तर सामाजिक प्रकृतिका झैझगडा र मादक पदार्थजन्य घटना बढ्ने देखाएको सन्दर्भमा काठमाडौंको तथ्यांक भने केही फरक देखिन्छ ।

मध्यान्हको ६ घण्टा सबैभन्दा असुरक्षित
तथ्यांकले मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्मको समय भने बढी असुरक्षित देखाएको छ । हुन त रातको अँध्यारो र सुनसान सडक सबैभन्दा असुरक्षित मानिनुपर्ने हो । तर काठमाडौँ प्रहरीको तथ्यांकले भने यसलाई चुनौती दिएको छ । प्रहरीको तथ्यांकमा रहेको क्राइम प्याटर्नले स्पष्ट रूपमा औँल्याएको छ कि दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्मको समय अपराध घटनाको लागि अत्यन्तै जोखिमपूर्ण छ । यो ६ घण्टाको ‘पीक आवर’मा जिल्लामा हुने कूल अपराधको आधाभन्दा बढी अर्थात् ५ हजार ७५० वटा घटना दर्ता भएका छन् ।

यो समयावधि कार्यालय समयको अन्त्यतिरको व्यस्तता, किनमेलको चहलपहल, बैंकिङ कारोबार र पार्किङ स्थलहरूमा हुने भीड आदिसँग जोडिने प्रहरीले जनाएको छ । सर्वसाधारणको अत्यधिक चाप र होहल्लामा अपराधीलाई आफ्नो गतिविधि लुकाउन सहज हुने भएकाले चोरी, लुटपाट, ठगी जस्ता सम्पत्ति सम्बन्धी अपराधको मात्रा पनि यस समयमा बढी हुने गरेको छ । मुख्यतः घरमा छिरेर चोरी गर्ने समूहले पनि यही समयमा बढी चोरी गर्ने गरेको पाइएको छ ।
दोस्रो जोखिमपूर्ण समय राति १२ बजेदेखि बिहान ६ बजेसम्म रहेको छ जहाँ १ हजार ५१४ अपराधका घटना भएका छन् । बिहान ६ देखि १२ बजेसम्म १ हजार ४६१ घटना भएको पाइएको छ । साँझ ६ बजेदेखि राति १२ बजेसम्मको समयमा २ हजार ३५३ घटना भएका छन्, जुन बिहान र मध्यरातको तुलनामा बढी भए पनि मध्यान्हको तुलनामा कम नै हो । रातको अधिकांश घटना मादक पदार्थ सेवन, झैझगडा र सुनसान स्थानमा हुने आपराधिक गतिविधिसँग सम्बन्धित हुने प्रहरीले जनाएको छ ।

सुरक्षा निकायको रणनीतिमा तथ्यांकको प्रयोग
जिल्ला प्रहरी परिसर काठमाडौँले यो क्राइम प्याटर्नलाई आफ्नो सुरक्षा रणनीतिको मेरुदण्ड बनाएको छ । प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार यो तथ्यांक केवल सङ्ख्या मात्र नभई प्रहरीको रणनीतिक योजनाको लागि खाका समेत हो । उनले भने, ‘हामी सोमबार र मध्यान्हको समयमा विशेष सादा पोसाकका प्रहरी र गस्ती बढाउन यही प्याटर्नलाई आधार मान्छौँ । अहिले हामीले विभिन्न स्थानमा एआई क्यामेरा समेत जडान गरेर निगरानी बढाई व्यक्तिहरूलाई पक्राउ समेत गर्ने गरेका छौँ ’

उनले भने, ‘चैत र जेठ महिनामा पनि अपराध बढी भएको पाइएकाले यी महिनामा पनि सुरक्षा सतर्कताको स्तर स्वतः वृद्धि हुनेछ ।’