राजनीतिक भर्तिकेन्द्र बन्यो शितल निवास : आलङ्कारिक राष्ट्रपतिलाई सल्लाहकारको जम्बो टिम !

- ईश्वर विश्वकर्मा  

काठमाडौं । नेपालको संविधानले राष्ट्रपतिलाई अभिभावकको रुपमा अंगिकार गरेको छ । त्यतिमात्रै होइन राष्ट्रअध्यक्ष, राष्ट्रिय एकताको प्रवद्र्धक, संविधानको संरक्षक र पालकको रुपमा संविधानले प्रस्तुत गरेको छ । यहि स्थानमा २०४७ सालको संविधानले राजालाई राखेको थियो । तर, हिजो वंशीय आधारमा तय हुने राजसंस्थाको अन्त्य भई सकेको छ । जनताकै छोरा राष्ट्र प्रमुख हुने ऐतिहासिक परम्परा थालनी भएको पनि दुई दशक हुन लागिसकेको छ ।

तनहुँको बाहुनपोखरीमा सामान्य परिवारमा जन्मिएका रामचन्द्र पौडेल अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति छन् । मुलुकको सर्वोच्च पदमा आसिन राष्ट्रपति पौडेल सामान्य परिवारमा जन्मिएका थिए । बुवा पण्डित थिए त्यसैले उनले शास्त्री पढ्न पाए । पढाईकै क्रममा राजनीतिमा लागे र जेलसम्म पुगे । पौडेलेका जीवनमा धेरै उतारचढावपूर्ण छ । १५ वर्षको जेल जीवनको अनुभव भएका पौडेलले राजनीतिक जीवनमा धेरै विजय पराजयको अनुभव लिएका छन् । पौडेल २०४८ सालमा पहिलो पटक मन्त्री बनेका थिए । नेपालको कार्यकारी अधिकारसहित प्रधानमन्त्री बन्न १७ पटक चुनाव हारेका पौडेल अन्तत २०७९ फागुन १९ गते संवैधानिक भनिएको आलंकारिक राष्ट्रपतिमा निर्वाचित भए ।

उनै पौडेलले राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति पदलाई हिजोको राजसी छाँटबाट मुक्त गराउने कोशिस गरे । विगतका दुई राष्ट्रपतिले सवारीको नाममा जनतालाई दिएको सास्तीबाट पाठ सिकेर तामझाम अन्त्य गर्दै सवारी सामान्य बनाए । मुलुकको सर्वोच्च पद राष्ट्रपति आखिर कस्ता व्यक्तिहरुको घेराबन्दीमा छन् भन्ने चासो र चिन्ता हुनु स्वभाविक हो । उनले नियुक्त गरेका सल्लाहकार, को कस्ता छन् भनेर नियाल्न पाउनु आम जनताको अधिकार हो ।

हामीले सुचनाको हक प्रयोग गर्दै राष्ट्रपति कार्यालयलाई निवेदन दिएका थियौा । सोही निवेदनका आधारमा राष्ट्रपति कार्यालयले सल्लाहाकार र सचिवालयको नामावली नै उपलब्ध गरायो । आलंकारिक भनिएको राष्ट्रपतिले २९ सल्लाहकार र सचिवालयको जम्बो टिम खडा गरेको पाइएको छ । कार्याकारी भूमिका नै नभएको राष्ट्रपतिले यति धेरै सल्लाहकार राख्नु आफैमा राज्यको सम्पत्तिमा दोहन होइन र त्यसमा पनि आफन्त नातागोता र मण्डले पृष्ठभूमिका व्यक्तिहरुको नियुक्तीले राष्ट्रपतिको गरिमामाथि प्रश्न उठाएको छ ।

पञ्चायती पृष्ठभूमिका सुनिल बहादुर थापा राजनीतिक सल्लाहकारको जिम्मेवारी पाएका छन् भने कानूनी सल्लाहकारमा पूर्व प्रदेश प्रमुख बाबुराम कुँवर, परराष्ट्रमा डा.सुरेशचन्द्र चालिसे, आर्थिक डा.चिरञ्जीवी नेपाल र जल तथा वातावरण सल्लाहाकारमा डा.परमेश्वर पोखरेल नियुक्त गरेका हुन् ।

जापानमा रहँदा कांग्रेसनिकट जनसम्पर्क समितिको महामन्त्री रहेका डा.परमेश्वर पोखरेल नेपाल खानेपानी संस्थानका अध्यक्ष थिए । जल तथा वातावरण विज्ञमा नियुक्त गरिएको पोखरेल कांग्रेस निकट इञ्जिनियर एसोसिएसनमा आवद्ध छन् । इञ्जिनियर एसोसिएसनबाट महाधिवेशन प्रतिनिधि समेत बनेका पाखरेल अहिले राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञकारुपमा नियुक्त भएका हुन ।

डा.परमेश्वर पोखरेल राष्ट्रपति पौडेलका माइला ज्वाई हुन् । पौडेलका ४ छोरी १ छोरा छन् । छोरा चिन्तन पौडेल हुन् । पौडेलकी जेठी छोरी शर्मिला खनाल दूरसंचार युनियन चितवनमा अध्यक्ष छिन् भने साइली छोरी डा.अनुज्ञा पौडेल परिवारसहित अमेरिकामा बस्छिन् । सानिमा विकास बैंक कलंकी शाखा कार्यरत अवज्ञा पौडेल राष्ट्रपति पौडेलकी कान्छि छोरी हुन् । पौडेलले अवज्ञालाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका छन् ।

राजनीतिक सल्लाहकार सुनिल बहादुर थापा पञ्चायतकालमा पटक पटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाका छोरा हुन् । उनी शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (UNHCR) को सुडानमा कार्यरत थिए । सुडानमा कार्यरत रहँदा सन् २०११ राष्ट्रसंघको जागिरबाट राजीनामा गरी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरि २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा जिल्ला क्षेत्र नं.२ बाट विजय हुन् । त्यसै समयमा २०७४ मा शेरबहादुर देउवाको मन्त्रीमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्री समेत बनेका थिए । लगतै थापा २०७७ साउनमा नेपाली कांग्रेसमा प्रवेश गरी सह महामन्त्री बने भने अहिले राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार भएका छन् । विरासतको राजनीतिबाट उदाएका थापालाई राष्ट्रपतिले मन्त्री सरहको तलबभत्ता खाने गरि राजनीतिक सल्लाहकार नियुक्ती गरेपछि कांग्रेस भित्रै असन्तुष्टि छ ।

पूर्व प्रदेश प्रमुख, महान्यायाधीवक्ता बाबुराम कुँवरलाई कानूनी सल्लाहकारमा राखिएको छ । तत्कालीन नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला नेतृत्वले महान्यायाधीवक्ता बनेका थिए । पछिल्लो समय गण्डकी प्रदेशको प्रमुख बनाइएको थियो । कुँवर कांग्रेस निकट कानुन व्यवसायीको छाता संगठन डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष पनि हुन् । कुँवर राष्ट्रपति रामचन्द्र पौडेलको कानुनविज्ञ भएपछि पनि सरकारविरुद्धको मुद्दामा बहस पैरवी गरेको भनेर चौतर्फी आलोचना भएको थियो । सम्मानीत पदको व्यक्तिको सल्लाहकार भए यता सरकारविरुद्धको बहसमा भाग लिन नपाइने व्यवस्था छ ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा परराष्ट्र सल्लाहकार नियुक्त भएका डा. सुरेश चन्द्र चालिसे नेपालका लागि अमेरिका र बेलायतका पूर्व राजदूतसमेत भइसकेका छन् । तिनै चालिसेलाई राष्ट्रपतिले परराष्ट्र सल्लाहकारमा नियुक्त गरिएको हो ।

डा.चिरञ्जीवी नेपाल आर्थिक सल्लाहकारमा नियुक्त गरिएको छ । नेपाल राष्ट्र बैङ्कको सोह्र्रौं गभर्नर तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको पालामा आर्थिक सल्लाहकारका रूपमा रहेका नेपाल २८ वर्ष प्रध्यापन पेशामा रहेका थिए । नेपाल मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) का संयोजक समेत थिए ।

त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा पल्मोनोलोजी र क्रिटिकल केयर मेडिसिन विभागका सह प्रध्यापकका रहेका डा.निरज बमलाई पौडेलले निजी चिकित्सकमा नियुक्त गरेका छन् । निरज वरिष्ठ छातीरोग विषेशज्ञ हुन् ।
त्यसैगरि प्रेस सल्लाहकारमा किरण पोखरेललाई नियुक्त गरिएको छ । पोखरेल नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन भने सूचना आयोगका पूर्वआयुक्त समेत रहेका थिए ।

पौडेलले खिला कार्कीलाई प्रेस सहयोगीका रुपमा नियुक्त गरेपनि स्वकीय शाखा अधिकृतको पदमा राखीएको खुल्न आएको छ ।
राष्ट्रपति पौडेलले पहिलेका राष्टप्रमुख जस्तो वातावरण सिर्जना हुन नदिने भनेपनि नियुक्तीमा भने आफ्न्तवाद र राजनीति नियुक्तीलाई प्राथमिकता दिइएको देखिन्छ । नियुक्तीहरुमा समावेशीताको धज्जी उडाइएको छ ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन् ‘राष्ट्रपतिलाई के को सल्लाहकार ? कार्यकारी भूमिका नै नभएको राष्ट्रपतिलाई सल्लाहकार चाहिने नै होइन ।’

अधिवक्ता मोहन साशंकर पनि सल्लाहकार नियुक्तीमाथि प्रश्न उठाउँछन् ।

‘यो नियुक्ती भन्दापनि आफ्न्त र पार्टीगत भर्तिकेन्द्र हो । राष्ट्रपतिलाई साल्लाह सुझाव त, प्रधानमन्त्री तथा मन्त्रीपरिषदले दिने हो नी,’ उनको प्रश्न छ,‘यतिका जम्बो टोली नियुक्त गरेर राज्यको ढिकुटी रित्याउने काम भएको छ ।’