काठमाडौं । अमेरिकामा नयाँ वर्ष मनाइरहेको भिडमा ट्रक कुदाएर १५ जनाको हत्या भएको छ।
अमेरिकाको लुइसियाना प्रान्तस्थित न्यू ओर्लिन्सको बार्बन स्ट्रिटमा नयाँ वर्ष मनाइरहेको भिडमा एक संदिग्धले ट्रक कुदाएर १५ जनाको हत्या गरेका हुन्।
फ्रेन्च क्वार्टर पनि भनिने उक्त स्थानमा नयाँ वर्ष मनाउन सयौं मानिसहरू जम्मा भएका थिए। स्थानीय समयअनुसार बिहान ३ः१५ बजे एक संदिग्धले भिडमा ट्रक कुदाएपछि गाडीभित्रैबाट गोलीसमेत चलाएका थिए।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार १५ जनाको मृत्यु र कम्तिमा ३५ जना घाइते भएका छन्। घाइते हुनेमा दुई प्रहरी पनि छन्।
भिडमा ट्रक कुदाउँदै गोली चलाएपछि त्यहाँ उपस्थित प्रहरीले जबाफी गोली चलाएको थियो। प्रहरीको गोली लागेर संदिग्धको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
संदिग्ध ४२ वर्षीय शमशुद दिन जब्बर रहेको खुलेको छ।
उक्त विषयमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यू अर्लिन्समा एउटा ट्रकले १५ जना किचेको घटनाप्रति प्रतिक्रिया दिएका छन्।