प्रेस काउन्सिलबारे समाचार लेख्दा कालोसूचिमा राखेको भन्दै काउन्सिललाई जन्मदेवले बुझाए ध्यानाकर्षण पत्र

दियोपोस्ट संवाददाता  

काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपालले पत्रकारिता क्षेत्रकै नियामक निकाय प्रेस काउन्सिलले क्षेत्राधिकार भन्दा बाहिर गएर पत्रकार एवं मिडियामाथि कारबाही गरेको भन्दै ध्यानाकर्षण गराएको छ । श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष समेत रहेका श्रमजीवी पत्रकारका अगुवा जन्मदेव जैसी नेतृत्वको टोलीले आइतबार काउन्सिलको कार्यालयमै पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

काउन्सिलले पछिल्लो समय आफ्नो निर्दिष्ट अधिकार क्षेत्रभन्दा बाहिर गएर विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचार हटाउन र सामाजिक सञ्जालमा सरकारविरुद्ध नलेख्न दबाब दिने कार्य आफैंमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य भएको र यसले संवैधानिक हकको समेत उल्लंघन गरेकोप्रति श्रमजीवी पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

दियोपोस्टले लामो समय यता काउन्सिलका गलत कामकारबाहीका विषयमा समाचार लेख्दा  नियामक जिम्मेवारी भन्दा बाहिर गएर प्रतिशोध पूर्ण तवरले समाचार हटाउन दबाब दिने, कालो सूचीमा राख्ने एवं गैरकानुनी स्पष्टिकरण साेध्ने जस्ता कार्य प्रेस काउन्सिलबाट हुँदै अाएकाे छ ।

‘प्रेस काउन्सिल नेपालले समाचार उपर उजुरी परेकै आधारमा समाचार हटाउन दबाब दिने, काउन्सिलकै काम कारबाहीमा भएका गल्ती र कमजोरीमाथि समाचार लेख्दा कालोसूचीमा राख्नुका साथै सामाजिक सञ्जाल प्रयोगकर्तालाई सरकारको कामकारबाहीमाथि टिकाटिप्पणी नगरुन् भनी नेपालको संविधान २०७२ को धारा १७ को ९२० विरुद्ध कार्य गरेकोमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’, श्रमजीवी पत्रकार संघद्वारा बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।

साथै काउन्सिलले पत्रिकाको वर्गीकरण समेत पूर्वाग्रही तवरले कायम गरेको भन्दै त्यसलाई सच्याउन समेत माग गरेको छ । काउन्सिलका कामकारबाहीले यसको गरिमा, ओज घटेको र विश्वसनीयतामाथि समेत प्रश्न उठेकाले यस्ता कार्य तत्काल रोक्न माग गर्दै बेवास्ता गरिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत श्रमजीवी पत्रकार संघले दिएको छ ।

‘केही पत्र पत्रिकाहरूलाई छानी–छानी तल्लो वर्गमा झार्ने काम भएको तथ्यसहितका गुनासाहरू देशभरका पत्रकारहरूले गरिरहेका छन् । साना लगानीका मिडिया र स्व रोजगारमूलक सञ्चारमाध्यमहरूलाई टिकाउन मुख्य आधार मानिने लोककल्याणकारी विज्ञापनको लागि बनाइएको मापदण्ड पूरा गरेका पत्रपत्रिकामा गरिएको पूर्वाग्रह पूर्ण व्यवहारले स्वतन्त्र र नियमनकारी निकाय काउन्सिलको गरिमा र ओज घटाएको मात्रै छैन, यस प्रतिको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ ।’, श्रमजीवी पत्रकार संघको ध्यानाकर्षण पत्रमा भनिएको छ ,‘अन्यथा श्रमजीवी र क्रियाशील पत्रकार एवं साना लगानीका पत्रपत्रिकाको अधिकारका लागि सशक्त आन्दोलनमा उत्रन बाध्य हुने यसै पत्रमार्फत काउन्सिललाई स्पष्ट गर्दछौं ।’