विपीन जोशीको रिहाइका लागि पहल गरिदिन परराष्ट्र मन्त्रीको आग्रह

दियोपोस्ट संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालका लागि इसराइली राजदूत समुलिक एरी बासमार्फत् इसराइल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि आग्रह गरेकी छन्।

बुधबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उनले नेपाली विद्यार्थी विपीनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इसराइल सरकारसँग आग्रह गरेकी हुन्।

हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेकाले यस विषयमा मन्त्री राणाले इसराइली राजदूतसँग जानकारी लिएकी हुन्।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरणमुक्त गर्न लागेका भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री राणाले राजदूत बासमार्फत् इसराइल सरकारलाई आग्रह गरेकी हुन्।

राजदूत बासले हमासको नियन्त्रणमा रहेका बृद्धवृद्धा, महिला तथा बालबालिका समेतका नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकहरूको रिहाइका लागि इसराइल सरकारले केही महिनाअघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरूलाई नियन्त्रण मुक्त गर्ने तयारी भएको भन्ने सूचना आएको बताएका थिए।

सन् २०२३ को अक्टोबरमा इसराइली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए।