सांसद अरुण चौधरीको मुद्दामा आज पनि सर्वोच्चले दिएन निर्णय

दियोपोस्ट संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी सांसद पदका लागि योग्य छन् कि अयोग्य भन्नेबारेमा बुधबार पनि सर्वोच्च अदालतले फैसला सुनाएन ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्माको इजलासले चौधरीविरुद्धको रिट निवेदनमा निर्णय सुनाउने मिति फेरि सारेको हो ।

चौधरीको योग्यतामाथि प्रश्न उठाई दायर रिटनिवेदनमाथिको सुनुवाइपछि संवैधानिक इजलासले १७ पुसमा मुद्दाको निर्णय सुनाउने मिति तोकेको थियो । मिति सारेर २४ पुसमा तोकिएकोमा आज पनि फैसला हुन नसकेको हो ।

यस विवादमा गत मंसिर १९ गते नै सुनुवाइ सम्पन्न सकिएको थियो। यसअघि न्यायाधीशहरू संवैधानिक इजलासकै अन्य मुद्दामा व्यस्त भएको कारण दर्शाउँदै पुस १७ र २४ गते तोकिएको निर्णय सुनाउने मिति सारिएको थियो।

अर्को मिति भने तोकिएको छैन ।