लेखा समिति सभापतिपत्नी अन्जला थुनामा बस्नु नपर्ने, १० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

दियोपोस्ट संवाददाता

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला कोइरालालाई १० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

सहकारी ठगीको अभियोगमा मुद्दा चलाइएपछि बुधबार मात्र मोरङ जिल्ला अदालतमा उपस्थित भएकी उनलाई न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासले थुनामा बस्नु नपर्ने गरी आदेश दिएको हो।

बिहान अदालतमा हाजिर भएपछि उनको आजै बयान लिइएको थियो। त्यसपछि सरकारी वकिल र अभियुक्त दुवैतर्फबाट बहस चलेको थियो।

मोरङ धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ। उक्त सहकारीमा अन्जला २०७२/०७३ देखि सञ्चालक समितिमा थिइन्।

२२ करोड २८ लाख २७ हजार ७ सय रकम खाने पचाउने गरी अपचलन भएको दाबी अभियोगपत्रमा गरिएको छ।