पोखरीबाट बाहिर निकालिँदै गरेको कार ।
काठाडौं । अमेरिकामा हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा दुई जना नेपालीको मृत्यु भएको छ।
अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीस्थित स्यान्टिलीमा रहेको विंगेट बाई विन्डह्याम होटल नजिकैको पोखरीमा कार खस्दा दुई जनाको मृत्यु भएको स्यान्टिलीबाट प्रकाशित हुने अखबार डेलीभोइसले जनाएको छ।
मृत्यु हुनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेको स्थानीय अखबार एनबिसी वासिंटनले जनाएको छ। उनीहरुको नेपालको ठेगाना भने खुलेको छैन।
खड्का सोही होटलमा कार्यरत थिए। २० वर्षीय भट्टले जागिरको लागि आवेदन दिने योजना बनाएकाले उनीसँग थिए।
फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार बिहीबार स्थानीय समयअनुसार बिहान ७स्२५ बजे सेन्टरभ्यू ड्राइभको ३९०० ब्लकमा गाडी डुबेको सूचना प्राप्त भएको थियो।
हिउँले ढाकेको सडकमा गुडिरहेको कार अकास्मात् चिप्लेर पोखरीमा खसेको हो ।
सूचनापछि घटनास्थल पुगेको प्रहरीले पोखरीबाट कार निकालेको थियो। कार १० फिट गहिरो पोखरीमा पूर्ण रूपमा डुबेको थियो। कारभित्र दुई जना मृत भेटिएका थिए।
प्रहरीले उनीहरूको बारेमा जानकारी भएकाहरूलाई फेयरफ्याक्स काउन्टी प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेको छ।