रवि लामिछाने पुन: प्रहरी हिरासतमा

दियोपोस्ट संवाददाता  

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई अदालतले प्रहरीको जिम्मा लगाएको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान भएको थियो । बयान सकिएलगत्तै थुनछेक बहस गराउने लामिछाने पक्षका कानून व्यवसायीको मागमा न्यायाधीश अधिकारी मौन रहे ।

बयान सकिएपनि आज थुनछेक बहस भने सुरू भएन । उनलाई काठमाडौं प्रहरी परिसरको भद्रकालीस्थित हिरासत कक्षमा राखिने छ । प्रहरीका अनुसार त्यसअघि रविको स्वास्थ्य परीक्षण गरिनेछ ।

सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगको मुद्दामा कास्की अदालतको आदेशबमोजिम रवि ६५ लाख बराबरको धरौटी बुझाएर विहीबार रिहा भएका थिए ।

अदालतले प्रहरीलाई लेखेको पत्रमा समय अभावले थुनछेकलगायतको काम नभ्याइएकाले सोमबार बिहान १० बजे बिहान उपस्थित गराउने गरी फिर्ता पठाइएको उल्लेख छ ।