आशिका तामाङलाई शुक्रबार अदालतमा उपस्थित गराउने गरी प्रहरीको जिम्मा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । भक्तपुर जिल्ला अदालतले आगामी शुक्रबार अदालतमा उपस्थित गराउने गरी आशिका तामाङलाई प्रहरीको जिम्मा लगाएको छ।

मंगलबार जिल्ला प्रहरी परिसर भक्तपुरले सरकारी वकिल कार्यालय भक्तपुरमार्फत अदालतमा थुनछेक बहसका लागि तामाङलाई उपस्थित गराएको थियो।

मंगलबार समय अभावका कारण थुनछेक बहस हुन नसकेपछि अदालतले शुक्रबारसम्मका लागि तामाङलाई प्रहरीको जिम्मा लगाएको हो। मंगलबार थुनछेक बहसका लागि समय अभावका कारण शुक्रबारसम्मका लागि अदालतले तामाङलाई प्रहरीको जिम्मामा लगाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज जानकारी दिए।

अभद्र व्यवहारको आरोपमा तामाङ जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सोमबार १० हजार रुपैयाँ धरौटी बुझाएर छुटेकी थिइन्। त्यसलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई अर्को कसुरको अभियोगमा जिल्ला प्रहरी परिसर भक्तपुरलाई बुझाएको थियो।

तामाङमाथि आपराधिक उपद्रव गर्न नहुने कसुरमा भक्तपुरमा मुद्दा चलाइएको छ। उनले काठमाडौँ – भक्तपुर सीमानाको साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरुसँग २० रुपैयाँ कर सङ्कलन गर्ने कार्यको विरोध गरेकी थिइन्। कर सङ्कलन गर्ने रसिद्समेत तामाङले कर्मचारीबाट खोसेर जलाइदिएकी थिइन्। त्यसविरुद्ध सूर्यविनायक नगरपालिकाले तामाङविरुद्ध उजुरी दर्ता गराएको थियो।

सोही आधारमा प्रहरी प्ररिसर भक्तपुरले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। यसअघि तामाङ माघ २ गते काठमाडौँ प्रहरी परिसरमा परेको उजुरीका आधारमा स्वयम्भू क्षेत्रबाट पक्राउ परेकी थिइन्। पुस २४ गते पशुपति विकास कोषमा गएर अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।