कर्मचारीले २० वर्ष उमेर घटाइदिँदा ७८ वर्षे बृद्ध दम्पत्तिलाई सास्ती : औषधी खाने पैसा समेत छैन

रीता बुढाथोकी  

बुटबल । त्यतिबेला नागरिकता बनाइदिने टोली घरमा नआएको भए सायद आज उनले यति धेरै झमेला झेल्नु पर्दैनथ्यो होला । राम बहादुर खड्की यतिबेला आफ्‌नै नागरिकताले दिएको पीडा बोकेर भौतारिरहेका छन् ।
नेपाल सरकारले ६८ वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता (बृद्धा भत्ता) उपलब्ध गराउँदै आएको छ । तर नागरिकताका कारण उनी सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुनु परेको छ ।

बुटबल उप–महानगरपलिका वडा नम्बर ११, प्रगतिनगरस्थित सुकुम्वासी टोलमा बस्दै आएका खड्की उमेरले ७८ वर्ष पुगे । २००७ सालमा काठमाडौँको थानकोटमा जन्मिएका उनको नागरिकतामा २०२७ साल लेखिएका कारण नागरिकता अनुसार उनको भत्ताका लागि उमेर पुगेको छैन । नागरिकतामा उल्लेखित जन्ममिति अनुसार उनी वास्तविक उमेर भन्दा २० वर्ष कान्छो बनेका छन् । जसका कारण उनी सामाजिक सुरक्षा भत्ता ‘बृद्धाभत्ता’ पाउन बाट बञ्चित हुनु परेको हो ।

‘त्यतिबेला नागरिकता बनाइदिने टोली घरमै आए । घरमै फोटो खिचे र नाम लेखेको कागजमा ‘ल्याप्चे’ लगाउन लगाए । एकैछिनमा ‘नागरिकता’ तयार भयो । बिना झन्झट घरमै बसी नागरिकता पाउँदा खुसी पनि लाग्यो । तर आज त्यही नागरिकताले रुवाउनुसम्म रुवाएको छ,’ २०४६ सालमा आफ्‌नो नागरिकता बनाउँदाको ‘किस्सा’ सुनाउँदै गर्दा उनका आँखा रसाए ।
नागरिकताका अनुसार उनी यतिबेला भर्खर चौवन्न वर्षका भए । नेपाल सरकारले तोकेको उमेर अनुसार ‘बृद्धा भत्ता’ पाउनका लागि उनले अझै १४ वर्ष कुर्नु पर्ने हुन्छ । ‘कपाल सेतै फुलिसक्यो । ढाड कुप्रो भइसक्यो । लठ्ठीको सहारामा भित्र बाहिर गर्नु पर्छ । दमले निकै दुख दिएको छ । असी पुग्न दुई वर्ष मात्रै बाँकी छ । अझै १४ वर्षसम्म त कहाँ बाँचिएला र ?’ उनी प्रश्न गर्छन् ।

करिब बीस वर्ष भन्दा अघि काठमाडौँबाट बुटवलमा बसाई सरेका उनी सामान्य लेखपढ समेत गर्न सक्दैनन् । पढ्न नजानेकै कारण नागरिकतामा आफु ठगिएको उनी बताउछन् ।
यद्यपी, आफ्‌नो नागरिकतामा उमेर घटाइएको बारेमा उनले निकै पछि थाहा पाएका हुन् । २०६९ सालतिर सुकुम्वासी बस्तीमा रहेको आफ्‌नो जग्गाको ‘निस्सा’ लिने क्रममा नागरिकता आवश्यक भएपछि मात्र आफ्‌नो नागरिकतामा उमेर घटाइएको बारेमा उनले थाहा पाए । त्यसपछि उनी ‘छाँगाबाट खसे’ जस्तै भए । त्यसपछिका दिनहरु निकै असन्तुष्टि र पीडामा बितेको उनी बताउछन् ।
नागरिकताको समस्या लिएर राम बहादुरले कैयौँ पटक वडा कार्यालय धाए । तर, आफु बस्दै आएको वडाले काठमाडौँबाट जारी भएको नागरिकताका सम्वन्धमा केही गर्न नसक्ने बताए पछि उनी नागरिकता सच्याउन काठमाडौँ गए । तर, काठमाडौँ थानकोटस्थित उनी जन्मेको वडा र जिल्ला प्रशासन कार्यालयले समेत ‘हुँदैन’ भन्दै फर्कादिएको उनको गुनासो छ ।
भन्छन्‌– ‘काठमाडौँ जाँदा–आउँदा निकै खर्च पनि भयो । तर, मेरो कुरा कसैले सुन्दैनन् । कहिले बुटबलको वडा कार्यालय जान्छु, कहिले थानकोटको वडा कार्यालय जान्छु । जहाँ गए पनि ‘हुँदैन’ मात्रै भन्छन् । अब त म थाकिसकेँ । भत्ता पाउने आश पनि मरिसक्यो ।’

यता, खड्कीका भाई बहिनीले भने बिगत केही वर्षदेखि बृद्धाभत्ता पाउँदै आएका छन् । तर, आफुले भने भत्ता नपाउँदा निकै नमिठो लाग्ने गरेको उनी बताउँछन् । ‘सन्तान भइदिएको भए उनैले कमाएर पाल्छन् भन्ने आशा हुन्थ्यो । सन्तान पनि छैनन्, बुढेसकालको सहारा कोही छैन । भत्ता नपाउँदा निकै नराम्रो लाग्ने रहेछ । भाई बहिनीहरुले भत्ता पायौँ भन्छन्, तर आफु भने कति अभागी रहेछु जस्तो लाग्छ,’ उनले दुखेसो पोखे ।

त्यसो त, उनकी श्रीमती सुर्जमाया खड्कीको पनि समस्या उस्तै छ । उनी २००८ सालमा ललितपुरको पाटनमा जन्मिएकी हुन् । तर, उनकोे पनि नागरिकतामा उमेर घटाएर २०२१ साल उल्लेख गरिएको छ । उनको वास्तबिक उमेरभन्दा १३ वर्ष कम उमेर उल्लेख गरि नागरिकता जारी गरिएको हुँदा नागरिकता अनुसार बृद्धा भत्ताका लागि उनको पनि उमेर पुग्दैन ।
जन्ममितिकै कारण खड्की दम्पत्तिले राज्यले उपलब्ध गराउँदै आएको सेवा सुबिधाबाट बञ्चित हुनु परेको छ । खड्की दम्पत्तिका कुनै सन्तान छैनन् । बुढेसकालको सहारा भन्नु पनि कोही छैन । आम्दानीका कुनै स्रोत छैन । बस्नका लागि सुकुम्बासी टोलमा सानो टिनको छाप्रो छ । रोगी र जिर्ण शरिरले आराम र औषधी खोजिरहेको छ । यस्तो अवस्थामा काम गरेर खान समेत मुस्किल भएको भन्दै राम बहादुरले दुखेसो पोख्छन् ।

काम गर्न नसके पछि दुई/चार पैसा कसैले नपत्याएको सुर्जमायाको भनाई छ । ‘सरकार सबैका लागि हो भन्छन् । तर हाम्रा लागि त सरकार पनि छैन रहेछ । भत्ता बुढेसकालको सहाराका लागि हो । हामी भने त्यही भत्ताका लागि रुनु परेको छ,’ उनकाे गुनासो छ । सम्बन्धित कर्मचारीले साक्षरता नभएका ब्यक्तिको आफुसुखी ‘बिवरण’ भरिदिदाँ राम बहादुर र उनकी श्रीमतिले यस्तो खालको नियती भोग्नु परेको हो । यद्यपी, नागरिकतामा देखिएको यस्तो खालको त्रुटी निकै गंभिर त्रुटी हो । यसको जिम्मा संम्वन्धित कर्मचारीले नै लिनु पर्ने बताउँछन् अधिबक्ता श्याम विश्वकर्मा । उनका अनुसार नागरिकता देशकै जल्दोबल्दो समस्या हो । तर, नागरिकतामा यस्तो खालको त्रुटी हुनु राज्यकै कमजोरी हो । यस सम्बन्धमा सम्वन्धित वडा कार्यालय तथा प्रशासनले प्रचलित कानुन अनुसार सहजीकरण गरेर राम बहादुर जस्ता पीडितलाई न्याय दिनु पर्छ ।


त्यसो त, नागरिकताको विवरण सच्याउने सम्बन्धी कार्यबिधि–२०६३ मा नागरिकता सच्याउन सकिने आधारहरु प्रसस्तै उल्लेख छन् । कार्यविधिका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको व्यक्तिले प्रमाणपत्रमा विवरण सच्याउनु पर्नाको मनासिब कारण उल्लेख गरी निवेदन दिएको खण्डमा नागरिकता सच्याउन सकिने छ ।
‘कुनै व्यक्तिले आफ्‌नो नेपाली नागरिकताको प्रमाणपत्रमा रहेको नाम, थर, उमेर, वतन वा अन्य विवरणमा त्रुटी भई सच्याउन चाहेमा भएको व्यहोरा खुलाई तोकिएको अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ ।’ कार्यबिधिमा भनिएको छ ।

त्यस्तै, प्रमाण पेश गर्न नसक्नेहरूका लागि वंशजको नाताले नागरिकता प्रमाणपत्रको प्राप्तिसम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार ‘कुनै व्यक्तिले ऐनको दफा ८ को उपदफा (१) बमोजिमका प्रमाणहरू निवेदनसाथ पेश गर्न नसकेको अवस्थामा तोकिएको अधिकारीले स्थलगत ‘सरजमिन’ र ‘निवेदक’लाई चिन्ने सोही वडामा बसोबास गर्ने कम्तीमा तीनजना नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका व्यक्तिले सरजमिनस्थलमै गरेको सनाखतको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिन सक्नेछ’ भनिएको छ ।

त्यस्तै विवरण सच्याउनेसम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार ऐनको उपदफा (१) बमोजिम निवेदन परेपछि सम्बन्धित अधिकारीले निजसँग भएको सबुद प्रमाण र आवश्यकता अनुसार साक्षी सर्जमिन समेत बुझी त्यस्तो विवरण सच्याई पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची अर्को नागरिकताको प्रमाणपत्र दिनसक्नेछ । यस आधारमा पनि राम बहादुर खड्की र उनकी श्रीमतिले नागरिकतामा ‘जन्ममिति’ सच्याई नागरिकताको प्रतिलिपी लिन सक्ने आधार प्रष्ट छ ।

उमेर पुगेका जेष्ठ नागरिकका हकमा नागरिकतामा उमेर कम भएर भत्ताबाट बञ्चित भएको खण्डमा प्रचलित ऐन, कानुन, र कार्यबिधिका आधारमा नागरिकता संसोधन गर्न सकिने प्रष्ट आधार भएता पनि आफ्‌नो वडामा यस्तो खालको अभ्यास अहिलेसम्म नभएको बुटबल उपमहानगर पालिका वडा नम्बर ११ का वडा सचिब राम प्रसाद खनालको भनाई छ ।

खनालका अनसार, अहिलेसम्म २० जना जति जेष्ठ नागरिकले ‘नागरिकतामा उमेर कम भयो’ भन्दै आएका छन् । तर, उमेर कम भयो भनेता पनि उनीहरु सबैले भत्ता भने पाइरहेको उनले बताए । सचिव खनाल भन्छन्, ‘राम बहादुर र उनकी श्रीमतिको समस्या अलि गंभिर देखियो । खड्की दम्पत्तिको समस्या राष्ट्रिय समस्या हो, यस खाले समस्याको समाधानका लागि राज्यले नै पहल गर्नु पर्छ ।’
यद्यपी, आफ्‌नो वडामा यस्तो समस्या लिएर आउने सेवाग्राहीलाई ऐन, कानुन, र कार्यबिधिका आधारमा सहजीकरण गरिदिने उनले बताए ।

सिफारिस