काठमाडौँ । सुनसरीको कोशी गाउँपालिका-१, पुरी टोलमा सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले गोली चलाउँदा सिटी सफारी चालक ४५ वर्षिय विजय साहको मृत्यु भएको छ। राति करिब १ बजे तस्करी नियन्त्रणका क्रममा प्रहरीले जवाफी फायरिङ गर्दा साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुनसरी जिल्ला प्रहरी कार्यालयका डीएसपी चन्द्रबहादुर खड्काले घटना स्थलमा प्रहरी टोली पुग्दा साह मृत फेला परेको बताए । घटनास्थलमा गोलीका खोका पनि फेला परेको र प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।
घटनाको बिरोधमा स्थानीयहरूले प्रदर्शन सुरु गरेका छन्। उनीहरुले मृतकको शव उठाउन दिएका छैनन् ।
सुनसरीमा सीमा क्षेत्रसँग सम्बन्धित अवैध सामानको ओसारपसार र सुरक्षा चेकजाँचका क्रममा यस्तो घटना भएको देखिएको छ। प्रारम्भिक अनुसन्धानपछि मात्र घटनाका पूर्ण विवरण सार्वजनिक हुने प्रहरीले जनाएको छ।
