पाथीभरा क्षेत्रमा हिमपात, चिसो बढ्यो

दियोपोस्ट संवाददाता  

काठमाडौँ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तथा तीर्थस्थल पाथीभरा क्षेत्रमा हिमपात सुरु भएको छ । यसअघि मंसिर ६ गते यसवर्षको पहिलो हिमपात भएको यो क्षेत्रमा शनिवार दोस्रो पटक हिमपात भएको हो ।

अहिलेको हिमपातसँगै सो क्षेत्रको तापक्रममा उल्लेखनीय रूपमा गिरावट आएको छ । स्थानीय पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार बिहान वर्षा भई साँझदेखि हल्का हिमपात गएको हो ।

समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा क्षेत्रमा प्रत्येक वर्ष मंसिरदेखि नै हिमपात हुने गर्दछ । तर पछिल्ला वर्षहरूमा हिमपातको ढाँचा केही परिबर्तित भएको बताइएको छ ।

हिमपातका कारण चिसो थप बढेपछि पाथीभरा धामसम्म घुम्न आउने तीर्थयात्रीहरूको सजिलोको लागि पदमार्गमा फाइबरको ट्रस समेत जडान गरिएको छ । जसले वर्षा तथा हिमपातका बेला पनि गन्तव्यसम्म पुग्न सहज हुने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

हिमपातका कारण तीर्थयात्रा तथा पर्वतीय परिकारको मौसममा रमाउनेहरूका केही चुनौती पनि उत्पन्न भएको समितिको भनाई छ ।

सिफारिस