काठमाडौँ । धनुषाको कमला नगरपालिकास्थित एक मस्जिदमा अज्ञात समूहले तोडफोड गर्नुका साथै कुरान जलाएको भन्दै वीरगञ्ज क्षेत्र तनावग्रस्त बनेको छ । उक्त घटनाको विरोधमा मुस्लिम समुदायद्वारा आइतबार वीरगञ्जका विभिन्न स्थानमा प्रदर्शन गरिएको हो।
मस्जिद तोडफोड र कुरान जलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आक्रोशित बनेका मुस्लिम समुदायले आइतबार बिहानदेखि वीरगञ्जको घण्टाघर, छपकैया, आदर्शनगर लगायत क्षेत्रमा प्रदर्शन जारी राखेका छन् ।
प्रदर्शनकारीले सडक अवरुद्ध गरी नारा लगाउनुका साथै टायर बालेर बिरोध प्रदर्शन गरिरहेका छन् । स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरी भीड तितरबितर पारेको छ।
पर्सा प्रहरीका अनुसार प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा भएको देखिएपछि बाध्य भएर अश्रुग्यास प्रयोग गरिएको हो। झडपमा केही प्रदर्शनकारी र सुरक्षाकर्मी सामान्य घाइते भएको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा स्थिति हाल नियन्त्रणमा रहेको उल्लेख गरिएको छ। प्रशासनका अनुसार संवेदनशील क्षेत्रहरूमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने शान्ति सुरक्षालाई ध्यानमा राख्दै निगरानी बढाइएको छ।
प्रशासनले धनुषा घटनाको गहिरो छानबिन भइरहेको र दोषी पहिचान गरी कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ। साथै कुनै पनि अफवाहमा विश्वास नगर्न र शान्ति तथा सद्भाव कायम राख्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
उक्त घटनालाई धार्मिक सहिष्णुता र सामाजिक सद्भाव बिग्रिन सक्ने भन्दै घटनामा संलग्न व्यक्तिहरूको पहिचानको प्रयास भइरहेको र सुरक्षा निकायले अनुसन्धान तीव्र पारेको बताइएको छ।
धार्मिक स्थल र आस्थासँग जोडिएका घटनाले समाजमा गम्भीर असर पार्ने भएकाले यस्ता विषयमा संयमता र संवेदनशीलता आवश्यक रहेको र घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र समुदायबीच संवादमार्फत मात्रै शान्ति र सद्भाव कायम राख्न सकिने सरोकारवालाहरूको भनाइ छ।
घटनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपको अवस्था बनेपछि प्रशासनले सुरक्षा सतर्कता कडा बनाएको छ।
