काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जना नेताले सामूहिक रूपमा पार्टी छाडेका छन्। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ नेतृत्वको यस पार्टीमा भएको आन्तरिक विवादलाई लिएर उनीहरुले राजीनामा दिएका हुन् ।
पार्टीभित्रको नेतृत्व संघर्ष, निर्णय प्रक्रियामा असहमति र आगामी राजनीतिक रणनीतिप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताइएको छ ।
पार्टीका एक कार्यकर्ताले भने, ‘हामीले लामो समयदेखि नेतृत्वको निर्णय प्रक्रियाप्रति असन्तोष व्यक्त गर्दै आएका थियौं। अब हामीलाई हाम्रो राजनीतिक भविष्यको लागि नयाँ बाटो रोज्नुपर्यो।’
राजीनामा दिनेहरुमा जिल्ला अध्यक्ष तुल्सी थारु, वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष राम बहादुर थारु, महिला जिल्ला अध्यक्ष राधा चौधरी, घनश्याम चौधरी, खुसीराम डगौरा, लक्ष्मणकिशोर चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी लगायत छन् ।
उनीहरू नागरिक उन्मुक्ति पार्टी छोडेर रास्वपामा प्रवेश गर्ने तयारी भइरहेको स्रोतहरूले जनाएको छ । केही नेताहरू भने रेशम चौधरी पक्षमा रहेर नयाँ ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ गठन गर्न तयारीमा रहेको स्रोतको भनाई छ ।