मादुरो पक्राउपछि डेल्सी रोड्रिगेज बनिन् भेनेजुएलाको कार्यवाहक राष्ट्रपति

दियोपोस्ट संवाददाता  

काठमाडौँ । अमेरिकी सुरक्षाबलले शनिबार साँझ राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित हिरासतमा लगेपछि, भेनेजुएलाको उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ । भेनेजुएलाको सर्वोच्च अदालतको संवैधानिक चेम्बरले उपराष्ट्रपति रोड्रिगेजलाई आज आइतबार राष्ट्रपतिको कार्यभार सम्हाल्ने आदेश दिएको हो ।

अदालतले यस निर्णयलाई प्रशासनिक निरन्तरता र राष्ट्रको सुरक्षा सुनिश्चित गर्न आवश्यक भएको कारणले सङ्गठित गरेको जनाएको छ ।

यो कदम संवैधानिक प्रक्रिया अन्तर्गत मादुरोको अनुपस्थितका कारणले लिइएको बताइएको छ ।

डेल्सी रोड्रिगेज ५६ वर्षीया वरिष्ठ राजनीतिज्ञ हुन् । उनी लामो समयदेखि सत्तारुढ पार्टीभित्र वरिष्ठ भूमिकामा रहँदै आएकी नेतृ हुन् । मादुरो शासनकालमा उपराष्ट्रपति, अर्थ तथा तेल मन्त्री जस्ता महत्त्वपूर्ण पदहरू सम्हालेकी रोड्रिगेजलाई मादुरो प्रशासनका सबैभन्दा विश्वासपात्र सहयोगी मानिन्छ ।

शुक्रबार राति अमेरिकी नेतृत्वमा भेनेजुएलामा भएको सैन्य कारबाहीपछि मादुरोलाई अमेरिकाले गिरफ्तार गरेको दाबी गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपरेशन सफल भएको भन्दै राष्ट्रलाई अस्थायी रूपमा अमेरिकाले चलाउने योजना रहेको जनाएको छ ।

तर, उपराष्ट्रपति रोड्रिगेजले राष्ट्रका नाममा संवोधन गर्दै अमेरिकी कारबाहीलाई अवैध र संप्रभुता उल्लंघनको रूपमा आलोचना गरेकी छन् । उनले मादुरो र उनकी पत्नी सीलिया फ्लोरेस जीवित रहेको प्रमाण सार्वजनिक गर्न अमेरिकासँग माग गरेकी छन् ।

अन्तर्राष्ट्रिय समुदायमा पनि यस घटनालाई लिएर मिश्रित प्रतिक्रिया देखिन्छ । कतिपय देशहरूले शान्तिपूर्ण र लोकतान्त्रिक सत्ता हस्तान्तरणको आवश्यकता औँल्याइरहेका छन् भने, कतिले यसलाई अंतर्राष्ट्रिय कानुन उल्लंघन भनेका छन् ।

भेनेजुएलाको नेतृत्वको परिवर्तनले क्षेत्रीय स्थिरता, राष्ट्रको सम्प्रभुता तथा भावी राजनीतिक मार्ग लाई गहिरो रूपमा प्रभावित गर्ने संकेत देखिएको छ ।