काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सञ्जालको दुरुपयोग नगर्न सबै सरोकारवालालाई आग्रह गरेको छ। प्रशासनले फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा भ्रामक, उत्तेजक, तथ्यहीन तथा समाजमा द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रसारण नगर्न चेतावनी दिएको हो।
धनुषाको एक मस्जिदमा अज्ञात समूहले मस्जिद तोडफोड र कुरान जलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि मुस्लिम समुदायले आइतबार बिहानैदेखि अन्दोलन जारी राखेका थिए । आन्दोलन थप हिंसात्मक बन्न सक्नेतर्फ लक्षित गर्दै पर्सा प्रशासनले समाजिक संजाल प्रयोगमा कडाई गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी विज्ञप्तीमा सामाजिक सद्भाव, शान्ति सुरक्षा र सार्वजनिक मर्यादामा आँच पुर्याउने किसिमका अफवाह, गलत सूचना, घृणात्मक अभिव्यक्ति तथा नक्कली (फेक) परिचय प्रयोग गरी गरिने गतिविधि कानुन विपरीत रहेको उल्लेख गरिएको छ।
यस्ता गतिविधिले समाजमा अशान्ति, आपसी द्वन्द्व र अविश्वास सिर्जना गर्न सक्ने भन्दै सबै नागरिकलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले विद्युतीय कारोबार ऐन, २०६३ तथा मुलुकी फौजदारी संहिता, २०७४ अनुसार कसैको मानहानी, सामाजिक सद्भाव विथोल्ने तथा सार्वजनिक शान्तिमा खलल पुर्याउने कार्य दण्डनीय अपराध हुने स्पष्ट पारेको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
विशेषगरी जातीय, धार्मिक तथा सामुदायिक सद्भाव बिगार्ने खालका सामग्री सामाजिक सञ्जालमा शेयर नगर्न, कुनै पनि सूचना वा समाचारको सत्यता पुष्टि गरेर मात्र सार्वजनिक गर्न र कानुनको पालना गर्न प्रशासनले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै नागरिक, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको सहयोग अपरिहार्य रहेको बताएको छ।
