नक्कली नोट छाप्ने मेसिनसहित काठमाडौबाट ७ जना पक्राउ, ठूलो परिमाणमा नक्कली नोट बरामद

दियोपोस्ट संवाददाता  

काठमाडौं । नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट ठूलो परिमाणमा नक्कली नोटसहित प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ।

पुष २० गते विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अत्तरखेल चोकबाट ९ लाख १० हजार रुपैयाँ बराबरका नक्कली नोट ९९३ थानसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो।

उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बारास्थित कलैया उपमहानगरपालिका-२ कबलपुर निवासी २८ वर्षीय गौरी शंकर यादवलाई थप नियन्त्रणमा लिइ सोधपुछ गर्दा नक्कली नोट छाप्ने मुख्य व्यक्ति जिल्ला बारा, फेटा गाउँपालिका-३ घर भई भारतको मोतिहारी लाला टोल पतौना क्षेत्रमा डेरा गरी बस्ने २८ वर्षीय रबि कुमार श्रीवास्तव रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न भएका श्रीवास्तवले नक्कली नोट नेपालमै छाप्न आवश्यक सामग्रीहरू भारतबाट नेपाल ल्याउने योजना बनाएको बताएका थिए।

सोही सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय बारासँग समन्वय गरी भारतीय नम्बर प्लेट द्यच्ण्छब्ँद्दछज्ञज्ञ भएको बुलेट मोटरसाइकल मार्फत नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर तथा अन्य प्रिन्टिङ सामग्री नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट नक्कली नोट छाप्न प्रयोग हुने विभिन्न उपकरण तथा सामग्रीहरू समेत बरामद गरेको छ। बरामद सामग्रीमा भारतीय प्लेट नम्बर भएको बुलेट मोटरसाइकल, भारतीय रुपैयाँ ५०० दरका ३१७ थान नोट, कम्प्युटर, कीबोर्ड, माउस, हेडफोन, कलर प्रिन्टर, मोबाइल फोन, विभिन्न केवल तार, नक्कली पेस्तोल तथा लालीगुराँसको वाटरमार्क छापिएको १००० लेखिएको कागजसहित जम्मा २५५ थान कागज रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र नक्कली नोट कारोबारमा संलग्न अन्य व्यक्ति तथा सञ्जालको खोजी जारी रहेको जनाएको छ।

सिफारिस