बालिकालाई यौनजन्य गतिविधिमा संलग्न गराएको आरोपमा काठमाडौँमा दुई जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । बालिकाहरूलाई लालच देखाई यौनजन्य गतिविधिमा संलग्न गराएको आरोपमा काठमाडौँ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बालिकालाई ट्याक्सी भित्र राखी अन्यत्र लैजान लागेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-९ स्थायी ठेगाना भई हाल ललितपुरको गोदावरी नगरपालिका-१ बस्ने २६ वर्षीय राजन तामाङ र दोलखाको मेलुङ गाउँपालिका-६ स्थायी ठेगाना भई हाल काठमाडौँको लोलाङ बस्ने ३४ वर्षीय लक्ष्मण तामाङ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार माघ १२ गते राति करिब १२ः३० बजे काठमाडौँ महानगरपालिका–१६ स्थित चन्द्रागिरि चोक नजिक सडक खण्डमा बा.२ ज २३२७ नम्बरको ट्याक्सीमा शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

प्रहरीका अनुसार उनीहरूले विभिन्न व्यक्तिहरूसँग महिला तथा बालिकाहरूको फोटो आदान-प्रदान गरी रकमको विषयमा सौदाबाजी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरू महिला तथा बालबालिकालाई यौनजन्य गतिविधिमा संलग्न गराउँदै आएको आशंकामा पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूको साथबाट बा.२ ज २३२७ नम्बरको ट्याक्सी, रेड्मी र सामसुङ कम्पनीका दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको र पीडितहरूको संरक्षण तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

साथै, प्रतिवादी लक्ष्मण तामाङविरुद्ध जिल्ला प्रहरी कार्यालय दोलखामा यसअघि पनि कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको विवरण सार्वजनिक गरिएको छ।

सम्बन्धित खबर

सिफारिस