नेपाल-भेनेजुएला मैत्री संघद्वारा भेनेजुएलामाथि अमेरिकी आक्रमणको कडा निन्दा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाल-भेनेजुएला मैत्री संघ (NEVEFA)ले अमेरिकाद्वारा भेनेजुएलाविरुद्ध हालै गरिएको सैनिक आक्रमणको कडा निन्दा गरेको छ। संघले उक्त आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको गम्भीर उल्लङ्घन भएको जनाएको छ।

संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै राजधानी शहर कराकास तथा मिरान्डा, अरागुवा र ला ग्वाइरा राज्यका नागरिक तथा सैनिक क्षेत्रलाई लक्षित गरी गरिएको आक्रमणले विश्व शान्ति र सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गरेको छ। कुनै पनि शक्तिशाली देशले हिंसा र दबाबको माध्यमबाट सार्वभौम राष्ट्रमाथि आफ्नो इच्छा लाद्न नपाउने संघको भनाइ छ।

संघका अनुसार आक्रमणको पछाडि भेनेजुएलाका रणनीतिक स्रोतहरूमाथि कब्जा जमाउने तथा त्यहाँको राजनीतिक स्वतन्त्रता र राष्ट्रिय सार्वभौमिकतामाथि प्रहार गर्ने उद्देश्य रहेको आशंका गरिएको छ। इतिहासले साम्राज्यवादी हस्तक्षेपले शान्ति होइन, द्वन्द्व र अस्थिरता मात्र निम्त्याउने प्रमाणित गरिसकेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा आफ्नै सार्वभौमिकताका लागि लामो संघर्ष भोगेका नेपाली जनता भेनेजुएलाका जनता र त्यहाँको वैध सरकारसँग ऐक्यबद्ध रहेको उल्लेख गर्दै, अन्तर्राष्ट्रिय कानुनअनुसार भेनेजुएलालाई आफ्नो देश र जनताको रक्षा गर्ने अधिकार रहेको स्पष्ट गरिएको छ।

संघले संयुक्त राज्य अमेरिकालाई आक्रमण तत्काल रोक्न माग गरेको छ भने संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन, अन्तर्राष्ट्रिय मानवअधिकार संस्था तथा विश्वका शान्तिप्रेमी जनतालाई यसविरुद्ध आवाज उठाउन आह्वान गरेको छ। साथै, नेपाल सरकार, नागरिक समाज र नेपाली जनतालाई संवाद, तनाव न्यूनीकरण र अन्तर्राष्ट्रिय कानुनको सम्मानका पक्षमा उभिन अनुरोध गरिएको छ।

सिफारिस