काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मनोनयन दर्तापछि उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरीमाथि छानबिन गर्ने, नाम फिर्ता लिने तथा अन्तिम उम्मेदवारको सूची प्रकाशन गर्ने प्रक्रिया अघि बढाइनेछ । आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
यस निर्वाचनमार्फत राष्ट्रियसभाका १८ सदस्य चयन गरिनेछ । हाल कार्यकाल पूरा गर्न लागेका ती सदस्यहरूको पद आगामी फागुन २० गतेदेखि रिक्त हुँदैछ । संविधानअनुसार राष्ट्रियसभा सदस्यको कार्यकाल छ वर्षको हुने व्यवस्था छ र प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पद रिक्त हुने प्रणाली लागू छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिका प्रमुख तथा उपप्रमुख, र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख मतदाता रहने व्यवस्था छ ।
मतभार फरक-फरक निर्धारण गरिएको यस निर्वाचनमा गोप्य मतदानमार्फत सदस्य चयन गरिन्छ ।
सत्तारूढ तथा प्रमुख विपक्षी दलहरूले आ-आफ्नो राजनीतिक शक्ति सन्तुलन कायम राख्ने गरी उम्मेदवार तय गर्ने तयारी गरेका छन् ।
निर्वाचन आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै तयारी पूरा भइसकेको जनाएको छ । आयोगले मतदाता तथा उम्मेदवारलाई तोकिएको आचारसंहिता पालना गर्न समेत आग्रह गरेको छ ।