नेपाली कांग्रेसले टुङ्ग्यायो राष्ट्रिय सभाका लागि ९ उम्मेदवार

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको आगामी निर्वाचनका लागि ९ जना उम्मेदवार टुङ्गो लगाएको छ । पार्टी नेतृत्वबीचको छलफलपछि प्रदेशगत प्रतिनिधित्व र गठबन्धनको सन्तुलनलाई ध्यानमा राख्दै नाम तय गरेको हो ।

कांग्रेसले कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धर्मेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे ‘जंगली’ र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खातीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टी स्रोतका अनुसार उम्मेदवार चयन गर्दा सबै प्रदेशको प्रतिनिधित्व सुनिश्चित गर्ने, संगठनभित्रको आन्तरिक सन्तुलन कायम गर्ने तथा सत्ता गठबन्धनसँगको सहकार्यलाई ध्यानमा राखिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा शीर्ष नेताहरूबीच लामो छलफलपछि नाम टुङ्गो लगाइएको बताइएको छ ।

राष्ट्रिय सभाका रिक्त सिटका लागि सत्तारूढ गठबन्धन दलहरूबीच सिट बाँडफाँडबारे अन्तिम समझदारी गर्ने प्रयास भइरहे पनि कांग्रेसले आफ्नो भागमा पर्ने सम्भावित सिटका लागि उम्मेदवार तय गरेको हो ।

राष्ट्रिय सभाको निर्वाचन नजिकिँदै गर्दा अन्य दलहरूले पनि उम्मेदवार छनोटलाई तीव्र बनाएका छन् । आगामी निर्वाचनले राष्ट्रिय सभाको शक्ति सन्तुलनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

 

सिफारिस