कांग्रेसका सुनिल थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। कोशी प्रदेशबाट उम्मेदवारी दर्ता गरेका थापाको विपक्षी उम्मेदवार नभएका कारण उनी निर्विरोध निर्वाचित भएका हुन् ।

राष्ट्रियसभा निर्वाचन तालिका अनुसार उम्मेदवारी दर्ताको अन्तिम समयसम्म थापाविरुद्ध कुनै उम्मेदवारी नपरेपछि निर्वाचन अधिकृतको कार्यालयले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। कांग्रेस–एमाले गठबन्धनबीच भएको सिट बाँडफाँडको सहमतिअनुसार थापालाई उम्मेदवार बनाइएको थियो।

थापा यसअघि राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थिए। राष्ट्रियसभा उम्मेदवार बन्ने प्रक्रिया अघि बढेसँगै उनले उक्त पदबाट राजीनामा दिएका थिए। कांग्रेसले अनुभवी र राष्ट्रिय राजनीतिमा पहिचान बनाइसकेका नेतालाई माथिल्लो सदनमा पठाउने रणनीतिअनुसार थापालाई अघि सारेको बताइन्छ।

राजनीतिक पृष्ठभूमिका हिसाबले थापा लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा सक्रिय थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा धनकुटा–२ बाट निर्वाचित उनी त्यसबेला वाणिज्य तथा आपूर्ति मन्त्री समेत बनेका थिए। पछि राप्रपा विभाजनपछि राप्रपा (प्रजातान्त्रिक) हुँदै २०७७ सालमा उनी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। हाल उनी कांग्रेसका केन्द्रीय सदस्य समेत हुन्।

यसपटक राष्ट्रियसभामा १८ सदस्यका लागि निर्वाचन हुँदैछ। ती पदका लागि सत्तारूढ गठबन्धनभित्र दलहरूबीच सहमति गरेर उम्मेदवारी अघि बढाइएको छ।

सिफारिस