रौतहट । चमार समुदायबाट पहिलोपटक डाक्टर बनेका रौतहटका डा. रामजी रामले दलित समुदायको समानुपातिक प्रतिनिधित्वको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको स्टाटसमार्फत उक्त निर्णयको जानकारी गराएका हुन्।
डा. रामले दलित समुदायबाट समानुपातिक प्रतिनिधित्वको बन्द सूचीमा आफ्नो नाम समावेश हुनु व्यक्तिगत रूपमा सम्मानको विषय भएको उल्लेख गर्दै त्यसलाई पुस्तौँदेखि आवाजविहीन बनाइएका हजारौँ सपनाहरूको प्रतिनिधित्वका रूपमा व्याख्या गरेका छन्।
“यो केवल मेरो नाम मात्र थिएन, यो अवसरप्रति म सधैँ आभारी रहनेछु,” उनले लेखेका छन्।
तर राजनीति केवल अवसर प्राप्त गर्ने खेल मात्र नभई त्याग, नैतिक साहस र सही समयमा सही निर्णय गर्ने जिम्मेवारी पनि भएको उल्लेख गर्दै उनले संसदभित्र पुग्न नितान्त आवश्यक तर अझै पनि पछि परेका आवाजहरूका लागि आफूले एक कदम पछाडि हट्ने निर्णय गरेको बताएका छन्।
उनले भनेका छन्, “यदि मेरो एक कदम पछाडि हटाइले उनीहरूका लागि एक ढोका खुल्छ भने, त्यो नै मेरो सबैभन्दा अर्थपूर्ण योगदान हुनेछ ।”
डा. रामले संसदको कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यतालाई अस्वीकार गर्दै सामाजिक चेतनाका विभिन्न मोर्चाबाट पनि न्यायको लडाइँ लड्न सकिने विश्वास व्यक्त गरेका छन्। दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै उनले बन्द सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको स्पष्ट पारेका छन्।
उनले फरक भूमिकामा रहेर पनि राजनीतिक चिन्तन, अल्पसंख्यकको आवाज, दलित अधिकार, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र सुशासनका पक्षमा सधैँझैँ दृढ आवाज उठाइरहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
“यो यात्रा यहीं समाप्त भएको होइन, यो त अझ जिम्मेवार रूपमा सुरु भएको मात्र हो,” उनले भनेका छन् । आफ्नो सामाजिक र राजनीतिक सक्रियता निरन्तर रहने संकेत दिएका छन्।
डा. रामजी राम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बालेन समहुबाट समानुपातिक सुचीमा परेका थिए । रास्वपाले निर्वाचन आयोगलाई पठाएको समानुपातिक सुचीमा रहेका नाम लिएर ब्यापक बिरोध र आलोचना भएपछि केहीले यस अघि नै उक्त सुचीबाट नाम फिर्ता लिएका थिए ।