काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका-३ अन्तर्गत साँखु-जहरसिंहपौवा सडकखण्डमा बुधबार साँझ करिब ५ः४५ बजे यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु हुनुका साथै भएको छ । उपचारका क्रममा थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो।
महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस साँखुबाट जहरसिंहपौवातर्फ जाँदै गर्दा लप्सेफेदीको जंगल नजिकै सडकबाट खस्दा दुर्घटना भएको प्रहरीको भनाई छ ।
दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका छन्। दुर्घटनामा घाइते भएका यात्रुहरूको उद्धार गरी तत्काल काठमाडौँका विभिन्न अस्पतालमा लगिएको थियो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन्। उनीहरूको उपचार ट्रमा सेन्टर, केएमसी, पाटन अस्पताललगायत स्वास्थ्य संस्थामा भइरहेको छ।
प्रहरीका अनुसार बस सडकबाट करिब १०० मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनास्थलको अवस्था, सवारीको प्राविधिक पक्ष तथा चालकको भूमिकाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरुको उद्धार गरिएको थियो । प्रहरीले मृतकको सनाखत तथा घाइतेको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको जनाएको छ।