काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाल प्रहरीले म्यादी प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा), नक्सालले सार्वजनिक गरेको सूचनाअनुसार १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गरिनेछ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन म्यादी प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी निर्देशिका, २०७९ अनुसार योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त माग गरिएको हो।
दरखास्त दिने मिति २०७९ असोज २५ गतेदेखि २०७९ कात्तिक ४ गतेसम्म तोकिएको छ। आवेदन बिहान १० बजेदेखि ४ बजेसम्म जिल्ला प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) तथा जिल्ला प्रहरी कार्यालयहरूबाट दिन सकिने जनाइएको छ।
म्यादी प्रहरीका लागि आवेदन दिन इच्छुक उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नभएको तथा शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्ने उल्लेख छ। उमेर हदका हिसाबले दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ।
शारीरिक मापदण्डअनुसार पुरुष उम्मेदवारको न्यूनतम उचाइ ५ फिट २ इन्च र तौल ५० केजी तथा महिलाको हकमा न्यूनतम उचाइ ५ फिट र तौल ४२ केजी तोकिएको छ। महिलाको हकमा गर्भवती नभएको हुनुपर्ने प्रावधान पनि राखिएको छ।
म्यादी प्रहरी छनोटमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल वा अन्य सुरक्षा निकायमा सेवा गरी अवकाश प्राप्त व्यक्ति, पूर्व सुरक्षाकर्मी तथा विगतका निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरेको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने जनाइएको छ।
छनोट प्रक्रिया २०७९ कात्तिक ५ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ भने अन्तिम नतिजा कात्तिक १२ गते प्रकाशन गरिनेछ। छनोटमा उत्तीर्ण उम्मेदवारका लागि कात्तिक १५ गतेदेखि २७ गतेसम्म तालिम सञ्चालन गरिने सूचनामा उल्लेख छ।
नियुक्त म्यादी प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि अधिकतम ४० दिन रहनेछ, जुन नेपाल सरकारले तोकेको निर्वाचन अवधिसम्म कायम हुनेछ।
नेपाल प्रहरीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न म्यादी प्रहरीको महत्वपूर्ण भूमिका रहने जनाएको छ।
